सिरोहिया पक्राउ पर्नुको के हुन् आधार? के भन्छन् जनकपुरका स्थानीय?

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया मंगलबार थापाथलीस्थित आफ्नै कार्यकक्षबाट पक्राउ परे।

सिरोहियासँग भएको नागरिकताको प्रमाणपत्र नम्बर अन्य व्यक्तिसँग मेल खाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

नागरिकता छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीका आधारमा सिरोहियालाई पक्राउ गरिएको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पक्राउपुर्जी जारी गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

काठमाडौंबाट पक्राउ परेका सिरोहियालाई बुधबार बिहानै जनकपुरधाम लगिएको छ। र, आजै उनलाई जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी प्रहरीले गरेको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा कान्तिपुरले श्रृंखलाबद्ध रूपमा समाचारहरू प्रकाशन गरिरहेका बेला अध्यक्ष सिरोहिया पक्राउ परेका हुन्।

सिरोहिया गिरफ्तारीको विरोधमा सञ्चारजगतले आपत्ति जनाएको छ नै राजनीतिक दलका नेताहरूले पनि यो घटनालाई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको धावा भनेका छन्।

सहकारी ठगी प्रकरणमा कान्तिपुर दैनिकले एकपछि अर्कोगरी समाचार प्रकाशन गरिरहेकाले प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरिएको आरोप लागिरहेको छ।

सिरोहिया गिरफ्तारीका आधारहरू

सिरोहियाको नागरिकताका सम्बन्धमा गत वैशाखमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो। उनीविरूद्ध सर्लाहीका इन्द्रजीत महतो भन्ने व्यक्तिले उजुरी दिएका हुन्।

उजुरीपछि छानबिन गरेको प्रहरीले सिरोहियालाई पक्राउ गर्नुपर्ने केही आधारहरू प्रस्तुत गरेका छन्।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले सिरोहियालाई पक्राउ गर्नुपर्ने ६ वटा आधार र कारणहरू देखाएका छन्।

– निज कैलासप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको तर निजले नागरिकता लिनुपूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको देखिएको।

– जिल्ला प्रशासन कार्यालय धनुषाको च.नं.१३३१३, मिति २०८१/०१/२० को पत्रअनुसार प्राप्त जवाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु/आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) को सन्तान्तनहरू गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अङ्गिकृत नेपाली भएको र (नाम प्रष्ट नभएको) कैलासप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको।

– निज कैलाशप्रसाद सिरोहियाले २०५७/६/२१ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिकामा फोटोसहितको अभिलेखमा अधिकारप्राप्त अधिकारीको दस्तख्त गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको। उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको।

– सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोस्टमा जन्म मिति २०१९/८/२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोस्टमा जन्म मिति थपि किर्ते गरिएको देखिएको।

– निज कैलासप्रसाद सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/५/२५ जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/८/२९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकोले उल्लेखित उमेर १८ वर्ष उमेर मेल नखाएको देखिएको।

– निज कैलाप्रसाद सिरोयिाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको।

के भन्छन् जनकपुरधामका स्थानीय?

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ परेपछि जनकपुरधामका स्थानीयहरू आन्दोलित भएका छन्।

प्रहरीले उनलाई पक्राउ गरेसँगै मंगलबारै जनकपुरधामका युवाहरूले रिहाइको माग गर्दै प्रदर्शनसमेत गरेका थिए।

माडबाडी सेवा समिति जनकपुरधामका अध्यक्ष निर्मल चौधरीले किर्ते नागरिकताको झुटो बहाना बनाइ सिरोहियालाई फसाउने काम भएको बताउँछन्।

सिरोहिया गिरफ्तारीको विरोधमा नागरिक समाजसँगै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहले जनकपुरधामका प्रतिष्ठित परिवारमध्येका स्वर्गीय घासीराम सिरोहियाका कान्छो छोरा कैलाशलाई स–सम्मान रिहा गर्न माग गरेका छन्।

नागरिकताको अभिलेख नभेटिनु अथवा त्यसमा भएका त्रुटिमा सिरोहियाको नभइ सम्बन्धित कार्यालयको दोष रहेको उनको भनाइ छ।

‘नागरिकता अभिलेख भेटिएन अथवा त्यसमा केही त्रुटि छ भने, निजको नागरिकताअनुसार तथा शैक्षिक प्रमाणपत्रको आधारमा त्रुटि सच्याएर नयाँ अभिलेख राख सरकार! ह्रस्व–दीर्घ, तिथि–मिति मिलेको छैन वा फरक अथवा कुनै त्रुटि छ भने निवेदनसाथ स्थानीय निकायको सिफारिसमा त्यस्ता त्रुटिहरू सच्याउन सहजीकरण गर्न सघाउ सरकार,’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले रिस र द्वेष तथा राजनीतिक प्रतिशोध साँध्न आफ्नै नागरिकलाई दुःख दिने काम बन्द गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

साहले लेखेका छन्,‘कुनै पनि प्रतिष्ठित आफ्नै नेपाली नागरिकलाई व्यक्तिगत रिस र द्वेष तथा राजनीति प्रतिशोधको आधारमा अनावश्यक किसिमले दुःख दिने खोज्ने जुनसुकै ओहदामा बसेकालाई जिम्मेबारीबाट हटाऊ सरकार!’

सिरोहियाको गिरफ्तारीमाथि जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरूले पनि प्रश्न उठाएका छन्।

उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सिरोहियाको नागरिकता जारी नभएर प्राविधिक त्रुटि भएको हुनसक्ने बताउँछन्।

‘कैलास सिरोहियाज्यूको बुबा घासीराम सिरोहियाज्यू २००९ सालमा स्थापना भएको जनकपुरधाम उद्योग वाणिज्य संघको संस्थापक महासचिव हुनुहुन्थ्यो। नागरिकता कसरी जाली हुनसक्छ, प्राविधिक त्रुटि हुनसक्छ,’ महासेठले भने।

वरिष्ठा उपाध्यक्ष मनिषरमण साहले विसं २००९ सालमा जनकपुर उद्योग वाणिज्य संघ स्थापना हुँदा संस्थापक महासचिव रहेका घासीराम सिरोहियाका छोरा कैलाश कसरी भारतीय नागरिक भए भनेर प्रश्न गरेका छन्।

‘उद्योग वाणिज्य संघ स्थापना हुँदा २००९ मा घासीराम सिरोहियाज्यू संस्थापक महासचिव हुनुहुन्थ्यो, उनी रैथाने नेपाली नागरिक भए तर, उनका छोरा कैलाश सिरोहिया कसरी भारतीय नागरिक भए? मलाई त अचम्म लाग्छ नेपालको कानुन!’ वरिष्ठ उपाध्यक्ष साहले प्रश्न गरेका छन्।

उनले सिरोहियाको गिरफ्तारीलाई प्रेसमाथिको सोझो हस्तक्षेप भनेका छन्।

‘राज्यको नजरिया अझै मधेसीलाई हेर्ने उस्तै भने फरक नपर्ला। प्रत्येक जनकपुरधामवासी यस विषयमा आवाज बुलन्द गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन्।

नेपाली कांग्रेस धनुषाका उपसभापति राकेशविक्रम साह नागरिकता दिने क्रममा कार्यालयले गरेको गल्तीको सजाय नागरिकलाई दिन नपाइने जिकिर गर्छन्।

आफूसँग भएको घटनाको जिकिर गर्दै उनी भन्छन्,‘मेरो र मेरो एक जना साथीको नागरिकता नम्बर एउटै थियो। हालै मेरो साथीले जिल्ला प्रशासन कार्यालय धनुषामा गएर सच्चायो। गल्ती यदि कार्यालयको छ भने सजाय नागरिकलाई कसरी?’

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *