काठमाडौं- आरती साहकी आमा निर्मलादेवी साह र उनका भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आरतीको न्यायका लागि काठमाडौंमा आन्दोलन गरिरहेकी उनकी आमा र भाइलाई प्रहरीले सिंहदरबार गेटअगाडिबाट नियन्त्रणमा लिएको हो।
उनीहरू सिंहदरबाभित्र प्रवेश गर्न खोजेका थिए। पास नभएको भन्दै प्रहरीले उनीहरूलाई सिंदरबारभित्र प्रवेश गर्न अवरोध गरेको थियो।
सिंहदरबार गेटअगाडि नारा लगाउन थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
निर्मला र प्रेम गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जाने भन्दै विनापास सिंहदरबार गेटमा पुगेका थिए।
नियन्त्रणमा लिइएका उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।
गएको जेठमा आरती श्रीमान मोतीबाबु साहको जनकपुरस्थित घरमा मृत फेला परेका थिए।
छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भन्दै निर्मलादेवी न्यायका लागि काठमाडौं आएर आन्दोलन गरिरहेकी छन्।
आरती मृत्यु प्रकरणमा मोतीबाबु पुर्पक्षका लागि थुनामा छन्।
पीडित परिवारले आरतीका ससुरा पनि संलग्न भएको भन्दै जेल हाल्नुपर्ने माग गर्दै आएका छन्।
Leave a Reply