साउदी अरबमा रक्सी बनाएर बेचेको आरोपमा ‘सयौं’ नेपाली कामदार जेलमा

काठमाडौं- साउदी अरबमा मदिरा उत्पादन गरेर बिक्री एवं सेवन गरेको आरोपमा सैयौं नेपाली श्रमिकहरू जेल परेका छन्।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताइन्छ।

रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा पर्ने गरेको बताएका छन्।

नेपाली श्रम अधिकारीहरूले साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअिघ दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिबारे जानकारी गराउने गरिएको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यक्तामाथि जोड दिएका छन्।

रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली जेलमा रहेको जनाएको छ।

वास्तविक संख्या त्योभन्दा बढी हुनसक्ने उल्लेख गर्दै गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ओसारपोसार र उत्पादनको कसुरमा जेलमा रहेको बताएका छन्।

उनी भन्छन्,‘घरेलु मदिरा उत्पादन, बिक्रीवितरण, ओसारपोसर र सेवन गरेको आरोप जेलमा रहेका धेरैलाई लागेको छ। सबैलाई साउदी अरबमा मदिरा गैरकानुनी हो भन्ने थाहा छ। तर, थाहा हुँदाहुँदै पनि पक्राउ परिएन भने छोटो समयमा टन्न पैसा कमाइ हुन्छ भन्ने लोभले यो निरूत्साहित भइरहेको छैन।’

सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउनेदेखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ।

जनबरीको अन्तिम साता साउदी अरबले गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्न अनुमति दिन लागेको घोषणा गरेको थियो।

विवरणहरूका अनुसार कैयौं नेपालीहरूलाई मदिरा उत्पादनसहितको कसुरमा सजाय दिइएको र कैयौंमा सजाय सुनाउन बाँकी नै रहेको उल्लेख छ।

त्यस्तो कसुरमा केही महिनादेखि सात वर्षसम्मको सजाय सुनाइएको बिबिसीले जनाएको छ।

पक्राउ परेका नेपालीहरूमाथि बेचबिखनका लागि मदिरा उत्पादन गर्ने गरेको आरोप लगाइएको छ।

तर, मदिराबारे त्यति कठोर नीति अँगालेको साउदी अरबमा नेपाली श्रमिकहरूले कसरी मदिरा उत्पादन गर्न सकिरहेका छन् भन्ने प्रश्न पनि उठाइएको छ।

‘उहाँहरूले ठ्याक्कै यही गरेर ल्याएको हामीलाई भन्नुहुन्न। तर, हामीले सुनेअनुसार नेपालमा घरेलु रक्सी उत्पादन गर्ने मर्चा भन्ने जुन हुन्छ, त्यसहालाई पिठोलगायतमा राखेर ल्याउनुहुन्छ। यहीँ पाइने अन्न गहुँ, चामल अनि खजुर पनि राखेर रक्सी उत्पादन गर्नुहुन्छ भन्ने हामीले सुनका छौं,’ गिरी भन्छन्।

कम्पनीमा काम गर्दा प्राप्त हुने न्यूनतम तलबभन्दा धेरै आम्दानी हुने भएकाले कैयौं नेपालीहरू पक्राउ पर्दा समेत रक्सी उत्पादन गर्ने वा बेचबिखन गर्न निरूत्साहित गर्न नसकिएको उनको भनाइ छ।

नेपालीमात्र नभएर भारतीय, बंगलादेशी र अन्य मुलुकका आप्रवासी कामदारहरू पनि मदिरा सेवन गरेको आरोपमा जेलहरूमा रहेको बताइन्छ।

भारतीय विदेश मन्त्रालयले साउदी जेलमा रहेका आफ्ना नागरिकको संख्या २२ सय रहेको जनाएको छ।

केही समय पहिले दमाम केन्द्रीय कारागारमा रहेका भारतीय बन्दीमध्ये अधिकांश मदिरा र लागुऔषध सम्बन्धित कसुरमा जोडिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए।

नेपाली अधिकारीहरू पनि गैरकानुनी घोािष्त मदिराको उत्पादन र बेचबिखनमा साउदी अरबमा गिरोह नै लागेको हुनसक्ने ठान्छन्।(बिबिसीबाट)

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *