काठमाडौं- सहकारी बचकर्ताको रकम ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिको बैठक बसिरहेको छ।
शनिबार गठन भएको संसदीय समितिको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको हो।
बैठकबाट समितिको कार्यदेश (टिओआर) टुङ्गो लगाइने बताइएको छ।
समितिको संयोजन सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन्।
समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल छन्।
समिति बनेसँगै आइतबार प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय समिति बनाउन माग गर्दै संघीय संसदको दुवै सदनमा अवरोध गरेको थियो।
कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन संसदीय समितिमार्फत गर्नुपर्ने माग गरिरहँदा सत्तापक्षले कुनै पनि हालतमा समिति नबन्ने अडान राखेको थियो।
कांग्रेसको अवरोधका कारण संसदको बैठक नै प्रभावित हुन थालेपछि अन्ततः सरकार समिति बनाउन बाध्य भएको हो।
Leave a Reply