काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १८ जनाविरूद्ध कास्की प्रहरीले अनुसन्धान सुरू गरेको छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पीडितहरूको पूरक जाहेरी परेपछि प्रहरीले थप व्यक्तिहरूविरूद्ध अनुसन्धान सुरू गरेको हो।
सहकारी पीडितहरूले सोमबार जिल्ला प्रहरी कास्कीमा रास्वपा सभापति लामिछानेसहित १८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए।
पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान सुरू भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिएका छन्।
पूरक जाहेरी छुट्टै दर्ता नगर्नुपर्ने भन्दै उनले पुरानै मिसिलमा संलग्न गरेर अनुसन्धान सुरू भएको उनले बताएका छन्।
सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बाँस्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलगायतविरूद्ध जाहेरी दिएका छन्।
सहकारी सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरू विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संंस्थाविरूद्ध पनि अनुसन्धान गर्नुपर्ने पीडितहरूको माग छ।
कास्की प्रहरीले तीनपटक फर्काएको जाहेरी सोमबार लिएको हो।
अब अनुसन्धान गरी पूरक प्रतिवेदन तयार गर्ने र दोषी पाइएमा सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सूयर्दशनका ऋणी संस्थाहरूमाथि पनि अनुसन्धान हुनेछ।
ग्यालेक्सी टिभीका अध्यक्षसमेत रहेका जिबी राईसहितको समूहले सूर्यदर्शनको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
यसअघि जाहेरी परेका १९ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना पक्राउ परेका छन् बाँकी फरार छन्।
सूर्यदर्शनकका पूर्वअध्यक्ष राईलगायतका विरूद्ध अहिले ‘डिफ्युजन नोटिस’ जारी भएको छ। इन्टरपोलले माघ १२ गते सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष राई र राईका दाजु भुपेन्द्रविरू नोटिस जारी गरेको छ।
Leave a Reply