एमाले-माओवादी गठबन्धनमा सामेल हुनबारे ‘अलमल’ मा लोसपा!

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा सामेल नेकपा एमाले र माओवादी केन्द्रका राजीनामा दिँदै समर्थन फिर्ता लिएको केहीबेरमै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक भयो।

त्यो तस्बिर थियो – एमाले प्रदेस संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्र प्रदेस संसदीय दलका नेताहरूकै साथै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई जना सांसदहरूको।

तस्बिरमा लोसपाकी प्रदेससभा सांसद रानी शर्मा तिवारी र उपेन्द्र महतो एमाले र माओवादी केन्द्रका नेताहरूसँगै उभिएका छन्।

एकअर्काको हातमाथि हात राखिएर खिचिएको त्यो तस्बिरले मधेस प्रदेसमा नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।

अर्थात सरकारको नेतृत्व लिने प्रयास गरिरहेको एमालेसहितको गठबन्धनमा लोसपा पनि सामेल हुँदैछ भन्ने सन्देश लोसपाका दुई प्रदेस सांसदहरूले दिन खोजेका छन्।

मधेस प्रदेससभामा एमालेका सभामुखसहित २५, माओवादी केन्द्रका ९, लोसपाका ८ (एक जना निलम्बित) र नेकपा(एकीकृत समाजवादी) का ७ जना प्रदेससभा सदस्य छन्।

यी दलहरूको संख्या जोड्दा ४९ पुग्छ। यो संख्या बहुमतका लागि आवश्यक ५४ भन्दा ५ कम हो।

जसपा नेपालइतरको सरकार बन्ने अवस्था भए जनमत पार्टी पनि यो गठबन्धनमा सामेल हुनसक्ने नेताहरूले बताएका छन्।

प्रदेससभामा जनमतका १३ जना सदस्यहरू छन्। जनमत पनि सरकारमा सहभागी भएको खन्डमा एमाले–माओवादी गठबन्धनको पक्षमा ६२ प्रदेस सांसद हुनेछन्।

र, बहालवाला मुख्यमन्त्री यादवको सत्ताबाट बर्हिगमन हुने निश्चित हुन्छ।

तर, एमाले र माओवादीका नेताहरूको हातमाथि हात राखेर खिचाएको तस्बिर सार्वजनिक भए पनि लोसपा यो गठबन्धनमा सामेल हुने टुङ्गो लागिसकेको छैन।

लोसपा मधेस प्रदेसका एक पदाधिकारीले एमाले–माओवादीसहितको गठबन्धनमा आफूहरू सामेल हुने नहुनेबारे अझै निश्चित भइ नसकेको बताए।

‘सरकारमा सामेल हुने नहुने विषयमा कुराकानी चलिरहेको छ, तर टुङ्गो भने लागिसकेको छैन,’ तस्बिरमा देखिएका लोसपाका दुई प्रदेस सांसदहरूबारे सोधिएको प्रश्नमा उनले भने,‘उहाँहरू कसरी त्यहाँ पुग्नुभयो थाहा भएन। यो गठबन्धनमा सामेल हुने नहुनेबारे टुङ्गो लाग्न बाँकी छ।’

ती पदाधिकारीका अनुसार मधेस सरकारका विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि हालसम्म कुनै निर्देशन दिएका छैनन्।

‘एमाले–माओवादीसहितका नेताहरूसँग हाम्रा दुई जना प्रदेस सांसदहरूको तस्बिर हामीले पनि हेरेका छौं,’ उनले भने,‘अध्यक्षज्यूको कुनै निर्देशन आएको छैन, हामी निर्देशन कुरिरहेका छौं। आज साँझसम्म सबैथोक प्रष्ट हुन्छ।’

प्रदेस सरकारबाट दुई सत्ता साझेदार दलहरू एमाले र माओवादी केन्द्र समर्थन फिर्ता लिँदै बाहिरिएपछि विकसित राजनीतिक घटनाक्रमबारे सोमबार बिहान लोसपा अध्यक्ष ठाकुर पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

वरिष्ठ नेता शरतसिंह भण्डारी, प्रतिनिधिसभा सदस्य सवेन्द्रनाथ शुक्ल, प्रदेससभा सदस्यसमेत रहेका मधेस प्रदेस अध्यक्ष जितेन्द्र सोनललगायतका नेताहरूसँग ठाकुरले छलफल गरेका हुन्।

यद्यपि छलफलको निष्कर्ष भने सार्वजनिक गरिएको छैन।

एमाले र माओवादीले लोसपालाई नयाँ गठबन्धनमा सहभागी गराउन प्रयास गरिरहे पनि लोसपाका प्रदेसस्तरीय कतिपय नेताहरू यसको विपक्षमासमेत देखिएका छन्।

‘मधेस आन्दोलनका बेला जसकाविरूद्ध हामी लड्यौं त्यो दल सामेल भएको गठबन्धनमा जानु हुन्न भन्ने हाम्रो भनाइ हो,’ लोसपाका ती पदाधिकारी भन्छन्,‘वामपन्थीभन्दा लोकतान्त्रिक दलहरूको गठबन्धनमा सहभागी हुनु उपयुक्त हुन्छ हामीलाई लागेको छ।’

लोसपाका केन्द्रीय सचिव मनिष मिश्र पनि एमाले–माओवादीसहितका दलहरूको गठबन्धनमा सामेल भएर सरकारमा जाने विषयमा निर्णय भइ नसकेको बताएका छन्।

महन्थ–उपेन्द्रबीच भेटवार्ता

राई पक्षबाट पार्टी विभाजन भएपछि समस्यामा परेका बेला जसपा नेपालका अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।

उपप्रधान एवं स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएकै दिन आइतबार ठाकुर निवास पुगेर उनले भेटवार्ता गरेका हुन्।

जसपा नेपालबाट अलग भएर लोसपा बनेयता यादवले सम्भवतः पहिलोपटक ठाकुरलाई भेटेका हुन्।

भेटका क्रममा जसपा यादवले मधेस प्रदेसमा आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई सहयोग गर्न ठाकुरलाई आग्रह गरे।

सत्ता साझेदार दलहरू नेकपा एमाले र माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरोज यादव नेतृत्वको सरकार संकटमा परेको छ।

जसपा नेपालका अध्यक्ष यादव मधेसमा आफ्नो पार्टी नेतृत्वको सरकार गुमाउन चाहेका छैनन्।

यसअघि जसपा नेपालबाट अलग हुँदा ठाकुरसँग भएका ‘टकराव’ र तिक्ततताहरूलाई विराम दिँदै उनी सहयोग मागेका छन्।

यद्यपि लोसपा अध्यक्ष ठाकुरले भने प्रष्ट जवाफ दिइ नसकेको स्रोतले बताएको छ।

एमाले र माओवादी केन्द्रले जनमत तथा लोसपासँग मिलेर मधेस प्रदेसमा नयाँ सरकार बनाउने गृहकार्य सुरू गरिसकेको छ।

एमाले–माओवादी गठबन्धनले नयाँ सरकार बनाउने गृहकार्य सुरू गरिसकेको अवस्थामा ठाकुरलाई भेट्न यादव उनकै निवास पुगेका थिए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *