काठमाडौं- प्रतिनिधिसभाको बैठकबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवावरण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।
पारित हुनुअघि विधेयकमाथि कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित छलफल भएको थियो।
छलफलका क्रममा १८ जना सांसदले विधेयकमाथि विभिन्न सुझाव दिएका थिए।
विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, पानी जहाज दर्ता ऐन, २०२७, मालपोत ऐन, २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन, २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० मा संशोधन गरिएको छ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, पारम्परिक कानुनी सहायता ऐन, २०७०, संगठित अपराध निवारण ऐन, २०७०, विद्युत नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र बीमा ऐन २०७९ मा संशोधन गरिएको छ।
विधेयकमार्फत मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा पनि संशोधन गरिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक २०८० फागुन ६ गते बस्नेछ।
Leave a Reply