जनकपुरधाम- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्झौता भंग गरेपछि जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माण अन्योलमा परेको छ।
राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको सम्झौता अचानक भंग गरेपछि रङ्गशाला निर्माण अन्योलमा परेको हो।
राखेपले रङ्गशाला निर्माणका लागि गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको जनकपुरधाम–१४ स्थित १७ बिघा १६ कठ्ठा ११ धुर २ कनमामध्ये १६ बिघा १७ कठ्ठा १९ धुर १ कनमा जग्गा लिजमा लिन २०७४ मंसिर १ मा गुठी संस्थान केन्द्रीय कार्यालयसँग सम्झौता गरेको थियो।
तर, राखेपले गुठी संस्थानसँग भएको सम्झौता ‘गुपचुप’ तरिकाबाट भंग गरेपछि रङ्गशालाको निर्माण कार्य अन्योलमा परेको हो।
बहालमा लिएको जग्गामा खेल पूर्वाधार निर्माण गर्न संघीय सरकारबाट बजेटको व्यवस्थापन नभएको, जग्गाको बहाल रकम महँगो भएको र सम्झौताबमोजिम वार्षिक रूपमा बहाल रकम बुझाइ रहनुपर्ने परेकोले सम्झौता भंग गरेको राखेपले जनाएको छ।
राखेपले गत वर्ष पुस ३ गते गुठी संस्थान केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘…सम्झौता कायम गरिरहनु उपयुक्त नदेखिएको हुँदा उक्त सम्झौताको सर्त नम्बर १६ बमोजिमको बाँकी बक्यौता बहाल रकम राखेपबाट भुक्तानीको प्रक्रिया अगाडि बढाउन तथा गुठी संस्थान प्रधान कार्यालयलाई राखेपबीच भएको सम्झौताको सर्त नम्बर १९ बमोजिम उक्त करार भंग गरी सो को सूचना गुठी संस्थान प्रधान कार्यालयलाई जानकारी गराउने मिति २०८०–९–३ को सदस्य सचिवस्तरीय निर्णयअनुसार जानकारीका लागि अनुरोध छ’ भनिएको छ।
सम्झौता भंग गर्न राखेपले कदम अगाडि बढाएपछि मधेस प्रदेसकै गौरवको योजना भनिएको रामजानकी रङ्गशाला निर्माण कार्य अन्योलमा परेपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले अग्रसरता लिएका छन्।
रङ्गशाला निर्माण गराइछाड्ने भन्दै दौडधुप बढाएका मेयर साहले राखेपको ‘बदमासी’ का कारण अन्योलको वातावरण सिर्जना भएको बताएका छन्।
आफूहरूलाई कुनै जानकारी नै नदिइ सम्झौता भंग गर्न गुठी संस्थानलाई पत्र पठाएर राखेपले बदमासी गरेको उनको भनाइ छ।
‘रङ्गशाला निर्माण मधेस प्रदेसकै लागि गौरवको योजना हो। निर्माणाधीन यो रङ्गशालामा कतिपय प्रतियोगिताहरू आयोजनासमेत भइसकेको छ,’ रङ्गशाला निर्माणकै विषयलाई लिएर काठमाडौं पुगेका साहले भने,‘उपमहानगरलाई जानकारी नै नदिइ सम्झौता भंग गरिएको छ, यो गलत भएको छ।’
सम्झौता भंग गर्न राखेपले गुठी संस्थानलाई पठाएको विषय सार्वजनिक भएपछि नगरप्रमुख साहले दौडधुप बढाएका छन्।
काठमाडौं पुगेर उनले उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठ, युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, लोसपाका वरिष्ठ नेता शरतसिंंह भण्डारीलगायतका नेताहरूलाई भेटेर रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाउन पहल गरिदिन अनुरोध गरेका छन्।
खेलकुदमन्त्री श्रेष्ठले राखेपले सम्झौता भंग गर्नु दुःखद भएको बताएको साहले जानकारी दिए।
‘राखेपाको यो निर्णयबाट दुःखी छौं, गलत निर्णय भएको छ,’ खेलकुदमन्त्री श्रेष्ठलाई उद्धृत गर्दै नगरप्रमुख साहले भने,‘यो विषयमा राखेपलाई पत्राचार गर्छौं।’
उनले राखेपले गरेको गलत निर्णयकै कारण रङ्गशाला निर्माण कार्यमा बाधा पर्न नदिन आफू प्रतिबद्ध रहेको बताए।
‘राखेपको गलत निर्णयविरूद्ध आवश्यक्ता परे सडकदेखि सदनसम्म आन्दोलन गर्न तयार छु, रङ्गशाला बनाइछाड्ने प्रतिबद्धतासहित काठमाडौं आएको छु,’ साहले भने,‘रङ्गशाला मधेसलाई चाहिएको छ, प्रदेसलाई चाहिएको छ र जनकपुरधामलाई चाहिएको छ।’
रङ्गशालाको पूर्वाधार निर्माणका लागि उपमहानगरपालिकाले लाखौं रकम लगानी गरिसकेको छ भने त्यहाँ महेन्द्रनारायण निधि मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता, मेयर कप, राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगिताहरूको आयोजना भइसकेको छ।
नगरप्रमुख साह रामजानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माण उपमहानगरपालिकाको विशेष चासो र सरोकारको विषय भएकाले जसरी पनि निर्माण गरेर छाड्ने दाबी गरे।
‘राखेपले सम्झौता भंग गरेको भए पनि उक्त जग्गामा रङ्गशाला निर्माण अवश्य नै गरिनेछ र यसका लागि प्रदेस सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी हामी अगाडि बढ्ने छौं,’ उनले भने।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएका बेला जनकपुरधामको विकासका लागि घोषणा गरेको सय करोड रूपैयाँ पनि रङ्गशाला निर्माणका लागि खर्च गर्ने योजना प्रदेस सरकारले बनाएको छ।

रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थल
यसका साथै प्रदेसको खेलकुद तथा समाज कल्याण मन्त्रालयले भारत सरकार, स्थानीय सरकार तथा प्रदेस सरकारको सहकारितामा बजेट व्यवस्थापनसम्बन्धी कार्य भइरहेको जनाएको छ।
चालु आर्थिक वर्षमा समेत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको बताउँदै मन्त्री सुरिताकुमारी साहले राखेपले सम्झौता भंग गरेर खेलाडीको मर्ममाथि घात पु¥याएको उल्लेख गरेकी छन्।
Leave a Reply