सपथ लिएको एक दिन नबित्दै ‘अल्पमत’ मा मुख्यमन्त्री

धनगढी – नेकपा(एकीकृत समाजवादी) का नेता दीर्घ सोडारीले बिहीबार सुदूरपश्चिम प्रदेसको मुख्यमन्त्रीमा नियुक्त भए।

चार दलको समर्थनमा दाबी पेस गरेकै दिन प्रदेस प्रमुख नजिर मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरे। र, बिहीबारै सोडारीले सपथ पनि लिए।

मुख्यमन्त्री नियुक्त गर्न उनलाई नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी तथा एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए।

तर, मुख्यमन्त्रीको सपथग्रहण गरेको एक दिन नबित्दै सोडारी अल्पमतमा परेका छन्।

नागरिक उन्मुक्ति पार्टीका एक जना प्रदेससभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि उनी अल्मतमा परेका हुन्।

मन्त्री पदको सपथका लागि प्रदेस प्रमुख कार्यालय बोलाएर विनाविभागीय मन्त्री बनाइने भएपछि नागरिक उन्मुक्ति पार्टीकी प्रदेससभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेकी छन्।

मन्त्रीका लागि बोलाएर विनाविभागीय तोकेर अपमान गरेको भन्दै उनले समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्।

थापालाई उद्धृत गर्दै उनका श्रीमान रतन थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेस प्रमुखको कार्यालय बोलायो, पछि विनाविभागीयमा सपथ खान भनियो। मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो। मलाई अपमान महसुस भयो, प्रदेस संरचनाबारे जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान म लागेन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु।’

सोडारी माओवादीका १०, एमालेका १०, एकीकृत समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) का गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

नागरिक उन्मुक्तिका ७ जना प्रदेससभामध्ये ५ जना संस्थापक नेता रेशम चौधरीको पक्षमा छन्।

रेशम सोडारी नेतृत्वको सरकारलाई समर्थन नगर्ने पक्षमा छन्।

एक जनाले पनि समर्थन नदिँदा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउँदैनन्।

५३ सदस्यीय प्रदेससभामा कांंग्रेसका १ जना प्रदेससभा सदस्यको निधन भएको छ। अहिले प्रदेससभामा ५२ सदस्य छन्।

बहुमतका लागि २७ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक हुन्छ।

नागरिक उन्मुक्तिका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी संकटमा परेका छन्।

समर्थन फिर्ता लिने घोषणा गरेकी थापा अडानमा कायमै रहे मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *