सदन खुलाउन बालुवाटारमा बसेको बैठक पनि निष्कर्षविहीन

काठमाडौं- सभामुखसहित शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ।

संसद सञ्चालनका विषयमा बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन टुंगिएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएको छ।

कांग्रेसको यो अडानपछि सभामुख घिमिरेको पहलमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो।

तर, सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो।

कांग्रेसले गृहमन्त्री लामिछाने स्वयं सहकारी ठगीमा संलग्न रहेकाले प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरिरहेको छ।

सत्ता पक्षले भने गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगर्ने अडान लिएको छ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको थियो।

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने निर्णय संसदीय दलको कार्यसमितिले गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गृहमन्त्री लामिछाने तथा कांग्रेस महामन्त्री गगन थापा तथा नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *