काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देश सेन्डिकेटले चलेको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यो देश सेन्डिकेटले चलेको छ भनेर आम जनताकाबीचमा भाष्य निर्माण भएको छ। यो सेन्डिकेटमा को–कोछ मलाई थाहा छैन, सबैले विश्लेषण गरौं। मलाई पनि त्यस्तै लागेको छ,’ उनले भने।
आमनागरिकले सरकार र सुशासनको अनुभूति गर्न नसकेको गौतमको भनाइ छ।
‘हाम्रो आफ्नै गठबन्धनको सरकार छ, तर वास्तवमा भन्ने हो भने सरकारको अनुभूति छैन,’ उनले भने,‘देशले सरकारको अनुभूति गर्न सकेको छैन, सुशासन कायम हुनसकेको छैन र भ्रष्टाचार नियन्त्रण भएको छैन। त्यही भएर लाग्छ नबोलौं कहिलेसम्म नबोलौं, जहाजै डुब्न थालिसक्यो।’
सांसद गौतमले जताततै निराशा र संवेदनशील परिस्थिति रहेको बताए। आम जनतामा उत्साह नरहेको बताउँदै उनले सार्थक प्रयास गर्नुपर्नेमा जोड दिए।
‘बोल्दा सुनिँदैन, भन्दा कसैले मान्दैन। कति कराउने? म त एउटा निर्वाचित सत्ताधारी दलको सांसद, अस्ति पुलतल अनशन बसेँ, साथीहरू सोध्नुहुन्छ पुल बन्यो सञ्जयजी, के जवाफ दिऊँ?,’ उनले थपे,‘मन्त्रीजी फाइल बढाएको छु अर्थ मन्त्रालयमा गएको भन्नु हुन्छ। अर्थमन्त्रीजी फाइलै आएको छैन भन्नु हुन्छ। कसको कुरा पत्याउँ? कर्मचारी अर्कै कुरा गर्छन्, क्याबिनेटले डिसिजन नगरेसम्म यो पैसा हाल्नै सकिँदैन भन्छन्।’
गौतमले राज्य राज्यजस्तो नचलेको आरोप लगाए।
Leave a Reply