संसद भवनअगाडि नेविसंघको प्रदर्शन

काठमाडौंं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गरेको छ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी नेविसंघका नेता कार्यकर्ताले टाउकोमा कालोपट्टी बाँधेर कालोझन्डा देखाएका थिए।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने उनीहरूले माग गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले सहकारी बचतकर्ताको अपचलन भएको रकम फिर्ता हुनुपर्ने, सहकारी पीडितहरूले न्याय पाउनुपर्ने लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनको दुवै बैठकमा अवरोध जनाउँदै आएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *