संसदमा गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्‍यो वेल घेराउ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ।

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै कांग्रेसका सांसदहरूले वेल घेराउ गरेका हुन्।

कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक आइतबारसम्म स्थगित गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई राजनैतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरूले वेल घेराउ गरेका थिए।

उनीहरूले ‘गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराबाजी गरी वेल घेराउ गरेका थिए।

त्यसअघि बैठकमा बोल्दै कांग्रेसका सांसदहरूले गृहमन्त्री सहकारी पीडक भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए।

प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा भएका व्यक्तिलाई मन्त्री पदमा बस्ने नहुने बताए।

अनुसन्धानको दायरमा भएका व्यक्तिसमेत मन्त्रीमा बस्न सक्ने मान्यता स्थापित भएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए।

लेखकको यो भनाइपछि कांग्रेस सांसदहरू उभिएर विरोध गरेका थिए। केही बेरका लागि स्थगित भएको बैठक दोस्रोपटक बसे पनि कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको जवाफ नआएसम्म अवरोध जारी रहने अडान लिएर वेल घेराउ गरेपछि बैठक स्थगित भएको हो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *