काठमाडौं- शहबाज शरीफ पाकिस्तानका २४ औं प्रधानमन्त्री निर्वाचित भएका छन्।
त्यहाँको नेसनल एसेम्बलीमा आइतबार भएको मतदानमा उनले २०१ मत प्राप्त गरे।
शरीफका प्रतिद्वन्द्वी तहरीक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबलाई ९२ मत परेको थियो।
पाकिस्तान मुस्लिम लीग–नवाज (पिएमएल–एन) ले हालै सम्पन्न चुनावमा हासिल गरेको नतिजाअनुसार नसनल एसेम्बलीमा स्पष्ट बहुमत ल्याउनसकेन।
पाकिस्तानमा हालै सम्पन्न चुनावमा तहरीक–ए–इन्साफ समर्थित स्वतन्त्र उम्मेदवार ९० भन्दा बढी सिटमा निर्वाचित भएर सबैभन्दा ठूलो समूहको रूपमा उभरिएको छ।
दोस्रो स्थानमा पाकिस्तान मुस्लिम लीग (नवाज) ले ७५ सिटमा जित हासिल गरेको छ।
त्यस्तै पाकिस्तान पिपुल्स पार्टी ५४ सिटसहित तेस्रो स्थानमा छँदा एमक्यूएम पाकिस्तानले १७ सिटमा जित हासिल गरेको छ।
सुरूवातमा बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी र पिएमएल–एनले मिलेर केन्द्रमा सरकार बनाउने निर्णय गरेको थियो।
तर, अन्तिम समयमा नवाज शरीफले आफूलाई प्रधानमन्त्रीको दौडबाट बाहिर गरेका थिए।
पिपिपीले पिएमएल–एनका प्रधानमन्त्रीपदका उम्मेदवार शहबाज शरीफको पक्षमा मतदान गर्ने निर्णय ग¥यो। आफ्नो पार्टीलाई राष्ट्रपति दिने सर्तमा उसले शरीफको पक्षमा मतदान गरेको हो।
आगामी ९ मार्चमा पाकिस्तानमा राष्ट्रपतिको चुनाव हुँदैछ। यसका लागि पिपिपी र पिएमएल–एनसहित ६ दलले गठबन्धन गरेको छ।
गठबन्धनका तर्फबाट अली जरदारी राष्ट्रपतिका प्रत्याशी छन्।
Leave a Reply