काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक हुँदै गएको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा महतले यस्तो बताएक हुन्।
विदेशी लगानीकर्ताहरू अहिले आफैं नेपालमा लगानी गर्न इच्छुक भइरहेको उनको भनाइ छ।
‘विगतमा नेपाल आफैं सम्पर्कमा जाँदा उनीहरू उदासीन देखिन्थे, अहिले लगानी गर्न आफैं खोज्दै आइरहेका छन्,’ महतले भने।
उनले विदेशी लगानीकर्ताहरू इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए।
वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई सफल बनाउन उनले आग्रह गरे।
अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै पत्र आउने जानकारी पनि दिए।
Leave a Reply