जनकपुरधाम- वैदेशिक रोजगारको समस्यालाई केन्द्र बनाएर निर्माण भइरहेको चलचित्र ‘लेबर’ को पहिलो टिजर सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बुधबार काठमाडौंमा ‘लेबर’ चलचित्रको टिजर सार्वजनिक गरिएको हो।
‘लेबर…लेबरसँग लबरई नहि सरकार’ अर्थात ‘श्रमिकसँग बदमासी होइन सरकार’ चलचित्रको ‘स्लोगन’ ले नै वैदेशिक रोजगारमा गएका कामदारहरूले भोग्नुपरेको समस्याबारे उजागर पारेको छ।
चलचित्रका निर्माता एवं निर्देशक पुर्नेन्दुकुमार झाले वैदेशिक रोजगारका लागि विदेशिएका कामदारहरूले भोग्नुपरेको समस्या र उनीहरूसँग सरकारका तर्फबाट भइरहेको व्यवहारलाई केन्द्रमा राखेर कथा तयार पारिएको बताए।
खासगरेर रोजगारका लागि खाडी मुलुक गएका कामदारहरू स्वदेश फर्किएपछि उनीहरूसँग भोग्नुपरेको समस्यालाई चलचित्रमा उतार्ने प्रयास भइरहेको झाको भनाइ छ।
उनका अनुसार चलचित्रको मुख्य भाषा मैथिली भए पनि नेपाली र भोजपुरीमा समेत डब गरिनेछ।
चलचित्रमा काम गर्ने कलाकारहरूको चयन भएर छायाँकनसमेत सुरू भइसकेको ‘लेबर’ आगामी मंसिर पुसमा रिलिज हुने निर्माता निर्देशक झाले बताए।
‘वैदेशिक रोजगारीमा गएका नेपालीहरूले समस्या भोग्नै परेको छ, उनीहरू स्वदेश फर्किएपछि थप समस्या भोगिरहेका छन्,’ उनले भने,‘लामो समयको अनुसन्धान गरेर यो कथा तयार पारेका छौं, ‘लेबर’ ले श्रमिकहरूको कथालाई प्रष्ट ढंगबाट उजार गर्छ भन्ने हाम्रो विश्वास छ।’
वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने अधिकांश मधेसका श्रमिकहरू भएकाले मधेसकै कलाकारहरूलाई प्राथमिकता दिइ छायाँङ्कन पनि मधेसमै गरिने झाले बताए।
उनका अनुसार चलचित्रको अधिकांश छायाँङ्कनका लागि जनकपुरधाम र आसपासका क्षेत्र चयन गरिएको छ।
सत्येन्द्र झा, सञ्जय साह, सेरू खान, सिखा ठाकुर, नरन अधिकारी, रमेश रञ्जन झा, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर चलचित्रका सहनिर्माता रहेका छन्।
पुर्नेन्दु प्रोडक्सन प्रालि र अरिपन फिल्म प्रालिको संयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्रमा राकेश यादव, उत्पल झा, रामभजन कामत, राजेश सक्सेना, जयनाथ अधिकारीलगायतका कलाकार रहेका छन्।
निर्माता निर्देशक झाका साथै नरेश मिश्राको कथा रहेको चलचित्रमा प्रवेश मल्लिकले संगीत बुनिरहेका छन्।
त्यस्तै आलोक शुक्लाले छायाँङ्कन गरिरहेको यो चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गर्नेछन्।
झाले यसअघि नेपाली चलचित्र ‘संरक्षण’ र ‘चौका दाउ’ मा निर्देशन गरिसकेका छन्।
Leave a Reply