काठमाडौं- सहकारी बचकर्ताका रकम ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन विपक्षी दलहरू एकै ठाउँमा उभिएका छन्।
शुक्रबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन शीर्ष नेताहरू सहमत भएका हुन्।
सकहारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरू सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बैठकमा कांग्रेससहित रािष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा सहभागि थिए।
बिहीबार प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच सभामुख देवराज घिमिरेले पेलेर संसदीय कार्यबाही अगाडि बढाउन खोजेपछि कांग्रेस झनै आक्रामक बनेको छ।
तटस्थ बस्नुपर्ने सभामुख अमुक दलको निर्देशनमा पेलेर सदनको कार्यबाही अगाडि बढाउन खोजेको कांग्रेसले निष्कर्ष निकालेको छ।
संसदीय छानबिन समिति बनाउन माग राख्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहँदा सत्तापक्षका सांसदहरू ‘सदन चलाउनुपर्छ’ भन्दै नाराबाजी गरेपछि बिहीबार संसदमा तनाव उत्पन्न भएको थियो।
कांग्रेसका सांसदहरूको नारबाजीका बीच सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आफ्नो धारणा राख्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको थियो।
यो क्रममा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद धनराज गुरुङले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘अपशब्द’ प्रयोग गरेको एमालेले आरोप लगाएको छ।
कांग्रेसले भने नाराबाजी गरिरहेका बेला एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसद गुरुङमाथि आक्रोशपूर्ण शब्द प्रयोग गरेपछि वादविवादमात्र भएको दाबी गरेको छ।
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ।
सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता भएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउने माग गर्दै आएको छ।
Leave a Reply