लगातार तेस्रोपटक प्रधानमन्त्री बन्दै मोदी, आज सपथग्रहण

जनकपुरधाम- लोकसभा चुनाव २०२४ को परिणाम घोषणा भएपछि भारतीय जनता पार्टी (भाजपा) नेता नरेन्द्र मोदी आइतबार लगातार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिने भएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय समयअनुसार साँझ सवा ७ बजे प्रधानमन्त्री र मन्त्रिपरिषदका केही सदस्यहरूलाई सपथ दिलाउने कार्यक्रम तय भएको छ।

सपथग्रहण समारोह राष्ट्रपति कार्यालयमा हुनेछ।

शुक्रबार भाजपा बैठकमा संसदीय दलका नेता र लोकसभामा एनडिए गठबन्धनको नेताका रूपमा चयन भएपछि कार्यवाहक प्रधानमन्त्री मोदीले राष्ट्रपति मुर्मूलाई भेटेर सरकार बनाउन दाबी पेस गरेका थिए।

शपथग्र्रहण समारोहमा छिमेकी मुलुकका प्रमुखहरूलाई पनि बोलाइएको छ।

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बंगलादेशकी प्रधानमन्त्री शेख हसिान, श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे, भुटानका प्रधानमन्त्री शेरिङ टोबगे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई निमन्त्रण पठाइएको छ।

सपथग्रहणमा माल्दिभ्सका राष्ट्रपति मुइज्जुको सहभागिता दुवै देशबीचको तनावलाई मथ्थर पार्न सहयोगी हुने अपेक्षा गरिएको छ
सन् २०१४ मा मोदीको सपथग्रहण समरोहमा माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल्ला यामिन सहभागी भएका थिए।

२०२३ नोभेम्बरमा मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो। मुइज्जुले आफ्नो चुनावी अभियानका क्रममा ‘इन्डिया आउट’ को नारा दिएका थिए।

राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सैनिकलाई माल्दिभ्स छाडेर जान निर्देशन दिएका थिए।

भारत सरकारले जारी गरेको विज्ञप्तिअनुसार सपथग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनाको सम्मानमा राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा रात्रीभोज दिने छिन्।

विपक्षी गठबन्धनलाई छैन निम्तो!

यसैबीच प्रमुख विपक्षी दल कांग्रेसले सपथग्रहण समारोहमा सहभागी हुन आफूहरूलाई निम्तो नपठाइएको बताएको छ।

कांग्रेस नेता केसी वेणुगोपालले विपक्षी गठबन्धनका नेताहरूलाई सपथग्रहण समारोहमा सहभागी हुन सरकारको तर्फबाट निम्तो नपठाइएको बताएका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री एवं तृणमुल कांग्रेसकी अध्यक्ष ममता बनर्जीले पनि सपथग्रहण समारोहका लागि आफूहरूलाई जानकारी नगराइएको बताएकी छन्।

सपथग्रहण समारोहमा तृणमुल कांग्रेसका कुनै पनि नेता सहभागी नहुने उनको भनाइ छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *