काठमाडौं- राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ।
राष्ट्रियसभा अध्यक्ष पदको मंगलबार हुने निर्वाचनका लागि मनोनयन दर्ता हुन लागेको हो।
उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म समय तोकिएको छ।
संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
अध्यक्ष पदका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र गठबन्धनइतरबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गर्दैछन्।
माओवादी केन्द्रले दाहाल र कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
६ वर्षे कार्यकाल पूरा गरी राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना बिदा भएपछि अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।
राष्ट्रियसभाको अंकगणितको हिसाबले एमाले–माओवादीसहितको गठबन्धनको पल्ला भारी देखिन्छ।
गत माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनपछि राष्ट्रियसभामा सबैभन्दा बढी १८ सदस्यसहित माओवादी केन्द्र पहिलो दल बनेको छ।
त्यस्तै माओवादीसँग गठबन्धन गरेको एमाले १० सदस्यसहित तेस्रो स्थानमा छ।
५९ जना कुल सदस्य रहेको राष्ट्रियसभामा अध्यक्ष पदमा निर्वाचित हुन कम्तिमा ३० सांसदको मत आवश्यक हुन्छ।
माओवादी र एमालेको मात्रै मत जोड्दा २८ पुग्छ। नेकपा एकीकृत समाजवादी र जसपासमेत गठबन्धनमा भएकोले राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार जित्ने पक्का देखिन्छ।
राष्ट्रियसभामा एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन्। गठबन्धनमा रहेका यी दुई दलको मतसमेत जोड्दा माओवादी उम्मेदवारको पक्षमा ३९ मत पुग्नेछ।
यता राष्ट्रियसभामा कांग्रेसका १६ सांसद छँदा गठबन्धन बाहिर रहेका जनमोर्चाका २, लोसपाका १ र स्वतन्त्र १ सांसद छन्।
कांग्रेससहित गठबन्धन बाहिर रहेका सांसदहरूको मत जोड्दा जम्मा २० हुन्छ।
Leave a Reply