काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेसँगै प्रमुख प्रतिपक्षी दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार खडा गर्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शनिबार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।
यद्यपि राष्ट्रियसभा अध्यक्षको उम्मेदवारबारे कांग्रेसले निर्णय गरिसकको छैन।
राष्ट्रियसभामा रहेका कांग्रेसका सांसदसँगको छलफलपछि मात्र उम्मेदवार टुंगो लगाइने नेताहरूले बताएका छन्।
यसैगरी कांग्रेसले राष्ट्रियसभामा रहेका अन्य दलहरूसँगसमेत आफ्नो उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारीका साथ कांग्रेसले राष्ट्रियसभा सदस्य बनाएको थियो।
यसअघि सहकार्य गर्दै आएको माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार खडा गर्ने अडान लिएपछि गठबन्धन टुटेको थियो।
केही समयअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन सहमति जनाए पनि अन्तिम समयमा पछि हटेका थिए।
परिस्थिति भिन्न भएको भन्दै उनले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार दिने बताएका थिए।
माओवादी–एमालेसहितको नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति भएको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले अध्यक्षमा उम्मेदवार खडा गर्ने निर्णय गरे पनि राष्ट्रियसभाको अंकगणितको हिसाबले एमाले–माओवादीसहितको गठबन्धनको पल्ला भारी देखिन्छ।
गत माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनपछि राष्ट्रियसभामा सबैभन्दा बढी १८ सदस्यसहित माओवादी केन्द्र पहिलो दल बनेको छ।
त्यस्तै माओवादीसँग गठबन्धन गरेको एमाले १० सदस्यसहित तेस्रो स्थानमा छ।
५९ जना कुल सदस्य रहेको राष्ट्रियसभामा अध्यक्ष पदमा निर्वाचित हुन कम्तिमा ३० सांसदको मत आवश्यक हुन्छ।
माओवादी र एमालेको मात्रै मत जोड्दा २८ पुग्छ। नेकपा एकीकृत समाजवादी र जसपासमेत गठबन्धनमा भएकोले राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार जित्ने पक्का देखिन्छ।
राष्ट्रियसभामा एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन्। गठबन्धनमा रहेका यी दुई दलको मतसमेत जोड्दा माओवादी उम्मेदवारको पक्षमा ३९ मत पुग्नेछ।
यता राष्ट्रियसभामा कांग्रेसका १६ सांसद छँदा गठबन्धन बाहिर रहेका जनमोर्चाका २, लोसपाका १ र स्वतन्त्र १ सांसद छन्।
कांग्रेससहित गठबन्धन बाहिर रहेका सांसदहरूको मत जोड्दा जम्मा २० हुन्छ।
राष्ट्रियसभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदैछ।
यसैबीच कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ।
सभापति देउवाले कांग्रेस संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।
Leave a Reply