राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्यान्ड र जर्मनीको भ्रमण सकेर बुधबार स्वदेश फर्कँदैछन्।

जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै उनी स्वदेश फर्कन लागेका हुन्।

राष्ट्रपति पौडेललाई बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको छ।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइलनमायरबीच बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

यस अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारे छलफल भएको बताइएको छ।

दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो।

सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो।

जर्मनीमा रहँदा पौडेलले जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानको उपचारबारे सुझाव दिन आग्रह गरेका थिए।

भ्रमणका क्रममा उनले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलकोन गरेका थिए।

यसअघि पौडेलले स्वीटजरल्यान्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।

राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा.सुरेशराज चालिसेले यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ बनाउन महत्वपूर्ण सन्देश प्रवाह गरेको बताएका छन्।

लामो समयपछि युरोपका प्रभावशाली मुलुकका राष्ट्रप्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै उनले आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको नेपालको ऐक्यबद्धता प्रदर्शित भएको उल्लेख गरे।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *