यू–१९ विश्वकप : भारतविरूद्ध नेपाल १३२ रनले पराजित

काठमाडौं- आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपाल प्रतिद्वन्द्वी भारतसँग १३२ रनले पराजित भएको छ।

भारतले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनले पराजित भएको हो।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर मात्रै १६५ रन बनाउन सक्यो।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै दीपक बोहरा २२, अर्जुन कुमाल २६, आकाश चन्द १८ र दुर्गेश गुप्ताले २९ रनको योगदान दिए।

यीबाहेक नेपालका अरू कुनै पनि ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्।

भारतका लागि सौमी पाण्डेले ४, आर्सिन कुलकर्नीले २ तथा आराध्या शुक्ला र मुर्गुन अभिषेकले १–१ विकेट लिएका थिए।

दक्षिण अफ्रिकाको माङ्गाउंग ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो।

भारतका लागि सचिन दासले सर्वाधिक ११६ र कप्तान उदय सहरानले १०७ रन बनाएका थिए।

त्यस्तै आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्नीले १८ रन जोडेका थिए।

नेपालका लागि गुलशन झाले ३ र आकाश चन्दले १ विकेट लिए।

सुपर सिक्समा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल बंगलादेशसँग पराजित भएको थियो।

नेपाली टोली यू–१९ विश्वकपको सेमिफाइनलबाट यसअघि नै बाहिरिइसकेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *