जनकपुरधाम- जनकपुरधामको रामानन्द चोकस्थित होटलमा बेहोस भएर युवतीको मृत्युपछि फरार भएका युवकहरू भारतीय रहेको खुलेको छ।
सिटी स्टार फैमली होटलमा बेहोस भएर उपचारको क्रममा प्रादेसिक अस्पतालमा मृत्यु भएको पोखराकी २७ वर्षीया खुश्बु सुनारसँग भारतीयमुलका केटाहरू रहेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले सुनारको मृत्युपछि फरार भएका दुई जना युवकहरू भारतीयमुलका रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए।
‘घटनाको अनुसन्धान गरिरहेका छौं। अहिलेसम्मको अनुसन्धानबाट मृतक युवती र उनीसँगै रहेकी अर्की एक युवतीसँग भारतीयमुलका युवाहरू रहेको खुलेको छ,’ डिएसपी अवाले डिएच खबरसँग भने।
उनका अनुसार सोमबार साँझ सुनारसँगै आएकी एक युवती र दुई युवक दुई छुट्टाछुट्टै कोठामा बसेका थिए।
होटलको कोठामा बिहान सुनारलाई बेहोस अवस्थामा देखेपछि अर्की युवतीले प्रादेशिक अस्पताल पुर्याएकी थिइन्। उपचारको क्रममा उनको मृत्यु भएको थियो।
‘दुवै युवती ती युवकहरूसँग छुट्टाछुट्टै कोठामा बसेका रहेछन्। बिहान ८ बजेतिर सुनारलाई बेहोस अवस्थामा देखेपछि अर्की युवतीले नै अस्पताल पुर्याएकी रहिछन्,’ डिएसपी अवाले भने,‘त्यसअघि नै दुवै युवक फरार भएको हुनसक्ने हाम्रो आशंका छ। उनीहरूलाई खोज्ने काम भइरहेको छ।’
अर्की युवतीले दिएको बयानअनुसार मृत्यु भएको सुनार मुटुसम्बन्धी रोगको उपचार गराइरहेकी थिइन्।
सुनारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
फरार भएका दुई युवको खोजीसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply