जनकपुरधाम- संयुक्त राष्ट्रसंघीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ‘ठूलो पारमाणविक दुर्घटना’ निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ।
रूसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ।
आक्रमणमा तीन जना घाइते भएको बताइएको छ।
युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
अहिले रूसको कब्जामा रहेको ६ वटा रिएक्टरहरू भएको उक्त विशाल ऊर्जा केन्द्र दुई देशबीचको युद्धको अग्रपंक्तिमा छ।
संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले बारम्बार यस्ता आक्रमणविरूद्ध चेतावनी दिँदै आएको छ।
आइएइएका प्रमुख रफाएल ग्रोसीले आइतबारको ड्रोन हमलालाई उक्त ऊर्जा केन्द्रले खेपिरहेको लापरबाहीपूर्ण गतिविधि र पारमाणविक सुरक्षामा बढ्दो खतरा भनेका छन्।
दक्षिणी युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र हो।
रूसी फौजले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरूद्ध पूर्ण रूपमा आक्रमण सुरू गरेको केही दिनपछि नै उक्त केन्द्र आफ्नो नियन्त्रणमा लिएका थिए।
अहिले पनि जापोरीजा परमाणु ऊर्जा केन्द्र रूसी नियन्त्रणमै रहेको छ।
जापोरीजाबारे जानकारी भएका विज्ञहरूको टोलीसमेत रहेको आइएइएले पछिल्लो आक्रमणका कारण उक्त ऊर्जा केन्द्रमा एउटा रिएक्टरसहित भौतिक क्षति भएको पुष्टि गरेको छ।
उक्त केन्द्रको रूसी प्रशासनले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएको छ।
आइएइएले आक्रमणबाट भएको क्षतिका कारण पारमाणविक सुरक्षामा सम्झौता नभएको बताएको छ।
तर, उसले यो रिएक्टरको नियन्त्रण प्रणालीलाई कमजोर पार्नसक्ने सम्भावित गम्भीर खालको घटना भएको चेतावनी दिएको छ।
ग्रोसीले ऊर्जा केन्द्रको प्रमुख रिएक्टर नियन्त्रण संरचनामा कम्तीमा तीनपटक प्रत्यक्ष प्रहार भएको बताए।
रूस र युक्रेन दुवैले बारम्बार एकअर्कालाई उक्त ऊर्जा केन्द्रमा गोलाबारी गरेको र गम्भीर दुर्घटनाको जोखिम निम्त्याएको आरोप लगाउँदै आएका छन्।
रूसी प्रशासनले आक्रमणमा युक्रेनी सशस्त्र बलको हात रहेको बताएको छ भने युक्रेनले त्यो आरोपलाई अस्वीकार गरेको छ।
युक्रेनको मुख्य गुप्तचर निर्देशनालयका प्रवक्ता एन्ड्री युसोभले युक्रेन्सका प्राभ्दा न्युज वेबसाइटलाई भने,‘केन्द्रमा भएका कुनै पनि सशस्त्र उत्तेजक गतिविधिमा युक्रेन संलग्न छैन।’
उनले उक्त केन्द्रलाई रूसले अवैध रूपमा कब्जा गरेको पनि बताए।
उनले रूसले नै हमला गरेर पारमाणविक केन्द्र, सर्वसधारण र वातावरणलाई खतरामा पारेको आरोप लगाए।
गत महिना आइएइएले केन्द्रमा रहेको उसका विज्ञहरूको टोलीले एक सातादेखि हरेक दिन विस्फोटनको आवाज सुनेको बताएको थियो।(बिबिसीबाट)
Leave a Reply