मोदी–ट्रम्पको संवादपछि अमेरिकाले भन्यो– कुराकानी ज्यादै सार्थक रह्यो

फाइल तस्बिर।

जनकपुरधाम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको संवाद ज्यादै सार्थक रहेको बताएका छन्। सोमबार दुवै नेताले टेलिफोन संवाद गरेका थिए।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच अमेरिका–भारतबीचको सहयोगलाई बलियो बनाउने र वृद्धि गर्ने विषयमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ।

दुवै नेताबीच इन्डो–प्यासिफिक, मध्य–पूर्व र युरोपको वर्तमान स्थितिबारे पनि कुराकानी भएको थियो।

संवादका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्माण भइरहेका सुरक्षा उपकरण भारतलाई खरिद गर्न जोड दिएको बताइएको छ। यसका साथै परस्पर हितसम्बन्धी मुद्दामा पनि दुवै जनाबीच कुराकानी भएको बीबीसीले जनाएको छ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी भएको बताएका थिए।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘आफ्नो प्रिय मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेर ज्यादै खुसी लाग्यो। उहाँको ऐतिहासिक दोस्रो कार्यकालका लागि बधाई दिएँ। हामी परस्पर रूपले लाभकारी र विश्वसनीय साझेदारीका लागि प्रतिबद्ध छौँ। हामी आफ्नो मानिसको कल्याण र वैश्विक शान्ति, समृद्धि र सुरक्षाका लागि मिलेर काम गर्नेछौँ।’

यसअघि ट्रम्पले सपथ लिएको भोलिपल्ट भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेका थिए। रुबियोले अमेरिका भारतसँग आर्थिक मोर्चामा काम गर्न इच्छुक रहेको बताएका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *