जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले पालिकावासीलाई निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराउने भएको छ।
पालिकावासीलाई निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराउन गाउँपालिका कार्यालयले आइतबार इन्टरनेट प्रदायक कम्पनी सिबुसीसँग सम्झौता गरेको हो।
सम्झौताअनुसार गाउँपालिकावासीले निःशुल्क इन्टरनेटसेवा प्रयोग गर्न पाउने छन्।
केही दिनअघि गाउँपालिकाले निकालेको ई–बिडिङमा इन्टरनेट सेवा जडान गर्न सिबुसीले ठेक्का हात पारेको हो।
सम्झौता भएसँगै सिबुसीले इन्टरनेटसेवा जडानका लागि प्राविधिक काम अगाडि बढाउने भएको छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले चुनावको बेला ‘फ्रि वाइफाइ’ उपलब्ध गराउने मतदातासँग गरेको वाचाअनुसार यो प्रक्रिया अगाडि बढाइएको बताए।
उनले ‘फ्रि वाइफाइ’ सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाका सबै वडावासीले पैसा खर्च नगरी इन्टरनेटको सुविधा उपयोग गर्न पाउने उल्लेख गरे।
‘फ्रि वाइफाइ’ उपलब्ध भएसँगै इन्टरनेट प्रयोग गर्न पालिकावासीले डेटा खरिद गर्न गरिरहेको खर्च बचत हुने अध्यक्ष यादवको भनाइ छ।
उनले ‘फ्रि वाइफाइ’ योजनाअन्तर्गत एकैपटक २० देखि २५ हजार मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने बताए।
‘२० देखि २५ हजार मोबाइल फोन प्रयोगकर्ताले यो सेवा उपयोग गर्नसक्ने गरी ‘फ्रि वाइफाइ’ जडान गर्दैछौं,’ अध्यक्ष यादवले भने, ‘एउटा प्रयोगकर्ताले डेटा खरिद गर्न औसतमा मासिक ४ सय देखि ५ सय रूपैयाँ खर्च गर्छन्। निःशुल्क इन्टरनेट उपलब्ध भए वार्षिक कम्तीमा १ करोडबढी रकम बचत हुन्छ। यो पालिकावासीको बचत हुनेछ।’
उनले यो सेवा सञ्चालनमा आएसँगै रोजगारका लागि विदेशमा रहेका पालिकावासीहरूलाई परिवारको सम्पर्कमा रहन थप टेवा पुग्ने बताए।
‘फ्रि वाइफाइ’ सेवा जडान भएर सञ्चालनमा आउँदा विद्यार्थीहरूलाई इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्न सहज हुने उनको भनाइ छ।
‘हामी डिजिटल युगमा छौं, अध्ययन र जानकारी हासिल गर्न इन्टरनेट नभइ नहुने साधन भइसकेको छ,’ उनी भन्छन्,‘स्कुल, कलेजका विद्यार्थीका साथै लोकसेवाको तयारी गरिरहेकाहरूलाई पनि यो सेवाले सहज तुल्याउँछ भन्ने हाम्रो बुझाइ छ।’
गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै ‘फ्रि वाइफाइ’ सेवा जडान गर्न पहल गरे पनि वाधा अड्चन आएको बताउँदै अध्यक्ष यादवले अहिले आएर यो कार्यान्वयनमा आउन थालेपछि आफूलाई खुसी लागेको बताए।
सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सिबुसीले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट (एपी)’ जडान गर्नेछ।
प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।
डिपिआरमा ४१ एपी आवश्यक देखिए पनि इन्टरनेटको सहज उपलब्धताका लागि ४८ स्थानमा जडान गर्न लागिएको अध्यक्ष यादवले बताए।
सम्झौता भएसँगै केही दिनभित्रै इन्टरनेट जडानका लागि प्राविधिक कार्य सुरू हुने सिबुसीले जनाएको छ।
४५ दिनभित्र एपी जडानसहित सम्पूर्ण प्राविधिक कार्य पूरा गरेर जेठ १ गतेबाट ‘फ्रि वाइफाइ’ सेवा उपलब्ध गराउने लक्ष्य इन्टरनेट प्रदायक संस्था सिबुसीले जनाएको छ।
सेवा सञ्चालनमा आएपछि पालिकावासीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने मधेस प्रदेसमा मुखियापट्टी मुसहरनिया सम्भवतः पहिलो पालिका पालिका हुनेछ।
Leave a Reply