जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पौने ७६ करोडबढिको बजेट ल्याएको छ।
सोमबार गाउँपालिकाको १० औं गाउँसभामा अध्यक्ष जयकुमार यादवले आगामी आर्थिक वर्षका लागि ७५ करोड ८५ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
अध्यक्ष यादवले गाउँसभामा बजेटका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरे।
नीति तथा कार्यक्रममा सामजिक विकास, कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा जोड दिइएको उनले बताए।
अध्यक्ष यादवले आगामी आर्थिक वर्ष ‘एक घर एक चुलो, एक ग्यास सिलिन्डर’ उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको बताए।
यो सुविधा प्राप्त गर्न पालिकावासीले आफ्नो घरअगाडि कम्तीमा दुईवटा रूख रोप्नैपर्ने नीति लिइएको उनले जानकारी दिए।
वातावरणमैत्री गाउँपालिका निर्माण गर्न यो कार्यक्रम अघि सारिएको अध्यक्ष यादवको भनाइ छ।
किसानहरूलाई कृषिका लागि सहकारीमार्फत न्यूनतम ब्याजमा उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ।
‘किसानहरूलाई कृषि खेतीका लागि खेती गर्न पहिले लाग्ने लागत अनुमानको आधारमा सहकारीमार्फत न्यूनतम ब्याजमा ऋण उपलब्ध गराइनेछ,’ नीति कार्यक्रममा उल्लेख छ।
त्यस्तै पशु पालन, कुखुरा पालन, बाख्रा पालन, माछा पालन र कृषि फर्मका लागि २ देखि १० लाखसम्म अनुदान दिइने नीति तथा कार्यक्रममा भनिएको छ।
कृषिलाई थप प्रोत्साहित गर्न कृषि पकेट क्षेत्रमा सिँचाइ, कृषि सडक, विद्युतीकरण, कृषि बजार, सित भण्डार तथा गोदाम घरहरूको पूर्वाधार निर्माण गर्ने नीति गाउँपालिकाले लिएको छ।
अध्यक्ष यादवले गाउँपालिकामा सञ्चालनमा रहेका दुईवटा डेरी उद्योगलाई प्राथमिकताको आधारमा ५ देखि १० लाखसम्म अनुदान उपलब्ध गराइने जानकारी दिए।
त्यस्तै आगामी आर्थिक वर्षदेखि बाँकी रहेका स्थानमा कृषि विद्युतीकरणको व्यवस्था मिलाइ कृषि विद्युतको महसुल निःशुल्क गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
किसान सूचीकरण प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाउँदै विपन्न कृषकको क्षमता अभिवृद्धि गर्न एक वडा एक उत्पादनलाई जोड दिइने नीति गाउँपालिकाले लिएको छ।
यस्तै कृषि उपजको बजारीकरणका लागि ‘कृषि बजार प्रणाली सफ्टवेयर’ निर्माण गरी कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।
गाउँपालिकाका मुख्य स्थानहरूमा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनलाई अभियानका रूपमा अगाडि बढाउँदै प्लास्टिकजन्य फोहोर नियन्त्रण तथा न्यूनीकरणका लागि प्लास्टिक झोलाहरूको प्रयोगलाई निरुत्साहित गर्ने नीति गाउँपालिकाले लिएको छ।
‘एक वडा एक पार्क’ निर्माण नीतिलाई निरन्तरता दिँदै गाउँपालिकाभित्र सडकको मापदण्डलाई आवश्क्ताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
गाउँपालिकाका नागरिकलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको निःशुल्क जाँच र उपचारको व्यवस्था गर्ने नीति गाउँपालिकाले लिएको छ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइ बर्थिङ सेन्टर स्वास्थ्य क्लिनिकहरूको सेवालाई स्तरोन्नतिका लागि प्रयोशालासहितको स्वास्थ्य सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ।
आर्थिक रूपमा अतिविपन्न गाउँपालिकावासीहरूको स्वास्थ्य जाँच र उपचारका लागि अस्पताल ल्याउन लैजान एम्बुलेन्ससहितको व्यवस्था मिलाइने अध्यक्ष यादवले बताए।
सीमान्तकृत, गरीब तथा पछाडि परेका समुदायहरूलाई निःशुल्क स्वास्थ्य बिमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइको सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको व्यावसायिक क्षमता विकासका लागि लगानी गर्ने नीति गाउँपालिकाले लिएको छ।
गाउँपालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
Leave a Reply