मिथिलाञ्चलमा जुडशीतल मनाइँदै

फाइल तस्बिर

जनकपुरधाम- मिथिला एवं तराई–मधेस क्षेत्रमा जुडशीतलपर्व मनाइँदैछ।

नयाँ वर्षको दोस्रो दिन आइतबार जुडशीतलपर्व मनाउन लागिएको हो।

गर्मी मौसममा शीतलता पाउन शीतला माताको पूजाअर्चना गरी शुद्ध माटो र पानी एक अर्कामाथि छर्केर जुडशितल मनाउने परम्परा रहेको छ।

यस पर्वमा परिवारका अग्रजले घरका कान्छा सदस्यहरुलाई बासी पानी टाउकोमा छर्केर आशिर्वाद दिने परम्परासमेत रहेको छ।

जुडशीतलका दिन आशिर्वादस्वरुप घरका अग्रजले बासी पानी शीरमा छर्केर आशिर्वाद दिएपछि दिर्घायू हुुनुका साथै भविष्य उज्जवल हुने जनविश्वास रहेको छ।

जुडशीतलका दिन शरीरमा बासी पानीले आशिर्वाद दिएपछि वर्षभरि शीतलता रहिरहने पौराणिक मान्यता छ।

यसैगरी आजको दिन बोटविरुवामा समेत पानी हाल्ने मान्यता रहिआएको छ।

यस पर्वमा एक दिनअघि बेसनले तयार पारिएको विशेष परिकार (बडी) र भात घरको मुख्यद्धारमा राख्ने गरिन्छ।

यसैगरी जुडशितलको दिन परिवारका सम्पूर्ण सदस्यहरुले बासी ‘बडी’ र भात खाने परम्परा रहेको छ।

नयाँ प्रविधिको विकास तथा वातावरण प्रदुषित हुन थालेपछि यस पर्वप्रति नयाँ पिढीको आकर्षण घट्दै गएको छ।

ग्रामीण भेगमा जुडशीतललाई जोगाउने प्रयास भइरहे पनि सहरी क्षेत्रमा भने लोप प्रायः भइसकेको छ।

जुडशीतलको महत्वलाई ध्यानमा राख्दै ग्रामीण भेगका युवाहरुले हिलोमाटो खेल्ने कार्यक्रम आयोजना गर्ने गरेका छन्।

सांस्कृतिक एवं वैज्ञानिक दृष्टिकोणले विशेष महत्व रहेको हुँदा यसको संरक्षण गर्न सांस्कृतिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विशेष पहल गर्नुपर्ने खाँचो रहेको संस्कृति विद्हरू बताउँछन्।

जुडशीतलको अवसरमा प्रदेस सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *