जनकपुरधाम- नेपालको सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा आइतबारदेखि सुरू भएको छ।
नेपाल तथा भारतका विभिन्न धार्मिकस्थल पुग्ने धार्मिक यात्रा मिथिला परिक्रमा सुरू भएको हो।
धनुषाको ठेरा कचुरी मठबाट मिथिला बिहारीको डोलासँग सुरू भएको परिक्रमा आइतबार जनकपुरधामको हनुमानगढीमा विश्राम गरेर सोमबार भारतको कलाणेश्वर पुग्नेछ।
त्यस्तै जनकपुरधामस्थित अग्नीकुण्डबाट किशोरीजीको डोला सोमबार सोझै कलाणेश्वरस्थान पुग्नेछ।
कलाणेश्वरबाट किशोरीजी र मिथिला बिहारीको डोलासहित नेपाल तथा भारतका विभिन्न स्थानमा परिक्रमा पुग्ने गर्दछ।
अग्नीकुण्डका महन्त नवलकिशोर शरण दासले औपचारिक रूपमा भारतको कलाणेश्वरस्थानबाट परिक्रमा सुरू हुने बताए।
‘हनुमानगढीमा आज विश्राम गर्ने मिथिलाबिहारीको डोला सोमबार कलाणेश्वर पुग्नेछ। किशोरीजीको डोला सोमबार सोझै कलाणेश्वर पुग्छ,’ उनले भने, ‘अनि कलाणेश्वर महादेवलाई साक्षी मानेर मंगलबार त्यहाँबाट दुवै डोलाका साथ विधिवत रूपमा परिक्रमा सुरू हुनेछ।’
हनुमानगढीबाट भनिए पनि औपचारिक रूपमा कलाणेश्वरबाट परिक्रमा सुरू हुने गरेको उनको भनाइ छ।
हरेक वर्ष फागुन शुक्ल औंसी तिथिका दिन बिहान कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला अपराह्न जनकपुरधामस्थि रत्नसागर मन्दिर पुग्ने गर्दछ।
परिक्रमामा सहभागी श्रद्धालुहरू केहीबेर त्यहाँ विश्राम गरेपश्चात जानकी मन्दिरको दर्शन गर्दै विश्रामका लागि हनुमानगढी पुग्ने गर्छन।
आइतबार राति हनुमानगढीमा विश्राम गरी सोमबार बिहानै भारतको कलाणेश्वरका लागि प्रस्थान गर्नेछन्।
१५ दिनसम्म चल्ने यो धार्मिक यात्रा जनकपुरधामको हनुमानगढी, भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।
औरहीबाट पुनः भारतको करूणा, विसौललगातका धार्मिकस्थल हुँदै १५ औं दिन पुनः जनकपुर पुग्नेछ।
नेपाल तथा भारतसहित कुल १३३ किलोमिटर दूरीको धार्मिकयात्रा जनकपुरधामको परिक्रमा.(अन्तगृह) पश्चात फागु पूर्णिमाका दिन सम्पन्न हुनेछ।
परिक्रमामा नेपाल तथा भारतका हजारौं श्रद्धालु सहभागी हुने भएकाले मिथिला मध्यमा परिक्रमालाई मिथिलाको कुम्भसमेत भन्ने गरिन्छ।
१५ दिन मिथिला मध्यमा परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोबञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।
Leave a Reply