जनकपुरधाम- महोत्तरीबाट दुई प्रहरी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको कान्तिबजारबाट दुई प्रहरीलाई घुससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा रहेको अख्तियारले जनाएको छ।
सेवाग्रहीसँग २० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले यादव र झालाई पक्राउ गरेको हो।
व्यक्तिले लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्रहीसँग घुस माग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
गौशाला नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Leave a Reply