महामुर्ख सम्मेलनको तयारी पूरा, आज होरी गायन प्रतियोगिता

फाइल तस्बिर

जनकपुरधाम- फागु पर्वको अवसर पारेर मिथिला नाट्यकला परिषद (मिनाप) ले आयोजना गर्दै आएको होरी महोत्सव र महामुर्ख सम्मेलनको तयारी पूरा भएको छ।

आइतबार आयोजना हुने होरी महोत्सव र सोमबार आयोजना हुने महामुर्ख सम्मेलनको तयारी पूरा भएको हो।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले होरी महोत्सव र महामुर्ख सम्मेलनको तयारी पूरा भएको जानकारी दिए।

यसअघि जानकी मन्दिरको प्राङ्गणमा मनाइँदै आइएको दुई दिवसीय होरी महोत्सव यसपालि राम मन्दिरअगाडिको पार्कमा आयोजना हुन लागेको उनले बताए।

उनकाअनुसार पहिलो दिनको कार्यक्रम होरी महोत्सव दिउँसो २ बजे सुरू हुनेछ।

होरी महोत्सवअन्तर्गत हरेक वर्षजस्तै यसपालि पनि होरी गायन प्रतियोगिता हुने मल्लिकले बताए।

होरी महोत्वसमा लोकभाकामा गाइने जोगिरा गायन (होली गीत) प्रतियोगिता हुने गरेको छ।

प्रतियोगितामा भाग लिन मधेस प्रदेसका विभिन्न जिल्लाबाट कलाकारहरू आइरहेका छन्।

डम्फा र कर्ताल जस्ता वाद्यययन्त्र बजाएर गाइने जोगिरा आधुनिकताभन्दा फरक तर वास्तविक होलीको छनक दिइरहेको हुन्छ।

मिनापका सचिव सन्दीप साहले यसपालि होरी महोत्सवअन्तर्गत हुने जोगिरा गायन प्रतियोगितामा १० वटा टोली सहभागी भइरहेको जानकारी दिए।

उनका अनुसार जोगिरा गायन प्रतियोगिताका लागि धनुषाबाट ४, महोत्तरीबाट ३, सर्लाही, रौतहट र सप्तरीबाट १–१ वटा टोली सहभागी हुने पक्का भएको छ।

तराई–मधेशमा जोगिरा गायन लोप हुँदै गइरहेको भन्दै यसको प्रवद्र्धन गर्ने उद्देश्यले होलीको अवसर पारेर यसखाले प्रतियोगिताको आयोजना गर्ने गरेको उनको भनाइ छ ।

होरी महोत्सव र महामुर्ख सम्मेलन हेर्न ठूलो संख्यामा सर्वसाधारण पुग्ने गर्दछन्।

त्यस्तै यसवर्षको महामुर्खको खोजी कार्य लगभग अन्तिम चरणमा रहेको आयोजक संस्था मिनापले जनाएको छ।

महामुर्ख सम्मेलनको अवसरमा मैथिली क्षेत्रका कवि, साहित्यकारहरुले राजनीति, राजनीतिज्ञ, समाजिक कुरुतीजस्ता विषयहरुमा गर्ने व्यङ्ग्यात्मक प्रहारले छुट्टैखाले मनोरञ्जन दिने गर्दछ।

मिथिलाको पारम्परिक होली, लोकभाकामा गाइने होलीका गीतहरु बढ्दै गरेको आधुनिकताका कारण लोप भइरहेको बेला मिथिला नाट्यकला परिषद्का यस्तो आयोजनाले संरक्षण गर्न ठुलो मद्त गरेको संस्कृतिविद्हरु बताउँछन्।

मिथिला नाट्यकला परिषद्ले गत वर्ष महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई दिएको थियो।

त्यसअघि तत्कालीन मेयर लालकिशोर साह महामुर्खको उपाधिबाट सम्मानित भएका थिए।

त्यस्तै यो उपाधिबाट राष्ट्रियसभाका तत्कालीन सदस्य वृषेशचन्द्र लाल पनि सम्मानित भइसकेका छन्।

मिनापले आयोजना गर्न लागेको महामुर्ख सम्मेलनको यो २८ औं संस्करण हो।

२०६१ सालदेखि मिथिला नाट्यकला परिषदले महामुर्ख सम्मेलनको आयोजनालाई निरन्तरता दिँदै आइरहेको छ।

महामुर्खको उपाधि पाउने पहिलो व्यक्ति हुन् मैथिली कवि नरेश ठाकुर। २०६२ मा तत्कालीन एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्रले महामुर्खको उपाधि पाएका थिए।

यसैगरी २०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडि, २०६९ मा नेपाली कांग्रेस नेता रामसरोज यादव, २०७० मा संविधानसभा सदस्य डा.विजयकुमार सिंह, २०७१ मा तत्कालीन एमाले नेता शत्रुध्न महतो र २०७२ मा समाजसेवी पवन सिंहानीयाले महामुर्खको उपाधि पाएका थिए।

त्यस्तै नेपालका लोकप्रिया हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश अचार्य (महजोडी), मधेस प्रदेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि महामुर्खको उपाधिबाट सम्मानित भइसकेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *