जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा समावेशी नेतृत्व चयन गर्न महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया रोकिएको बताएका छन्।
महाधिवेशनको समापनपछि शुक्रबार जनकपुरधाममा प्रेस मञ्च मधेस प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
अध्यक्ष यादवले पार्टीको समावेशी र समानुपातिक नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले आफूलाई अख्तियारी दिएको जानकारी दिए।
‘एकताको राष्ट्रिय महाधिवेशन भएकाले समावेशी र समानुपातिक नेतृत्व चयन गर्न प्रतिनिधिहरूले मलाई अख्तियारी दिनुभएको छ,’ उनले भने,‘अब समावेशी र समानुपातिक आधारमा नेतृत्व चयन हुन्छ।’
अध्यक्ष यादवले काठमाडौं फर्किएपछि गृहकार्य गरेर पार्टीमा उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान दिइने उल्लेख गरे।
‘उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान दिइन्छ, पार्टीमा सक्रियता र विचारमा स्पष्टता भएकाहरूले स्थान पाउनु हुन्छ,’ उनले भने।
यादवले काठमाडौं फर्किएर चाँडै पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुङ्गो लगाइने जानकारी दिए।
जनकपुरधाममा सम्पन्न ‘एकताको प्रथम राष्ट्रिय महाधिवेशन’ मा यादव अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि आकांक्षी प्रत्याशीहरूले उम्मेदवारी दर्ता गराएका थिए।
उम्मेदवारी दर्ता भएर मतदानको मिति तोकिए पनि अन्तिम समयमा निर्वाचन स्थगित भएर पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने अधिकार अध्यक्ष यादवलाई प्रत्यायोजन गरिएको थियो।
चुनावी प्रक्रियामा जाँदा समावेशी प्रतिनिधित्व नआउने जोखिम देखेपछि अध्यक्ष यादवकै निर्देशनमा मतदान स्थगित गर्न लगाइएको जसपा नेपाल स्रोतले जनाएको छ।
अध्यक्ष यादव भने अख्तियार प्रत्यायोजन गरेर नेतृत्व चयन गरिनु पनि लोकतान्त्रिक प्रक्रिया रहेको बताएका छन्।
महाधिवेशनपछि पार्टी फुटाएर गएका केही व्यक्तिहरू ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरेको’ सरह भएको उनको भनाइ छ।
उनले चोइटिएर गएका केही व्यक्तिका कारण पार्टीलाई केही फरक नपरेको महाधिवेशनबाट पुष्टि भएको उल्लेख गरे।
‘केही व्यक्तिहरू चोइटिएर जाँदैमा पार्टीलाई केही फरक परेको छैन, महाधिवेशनमा ठूलो संख्यामा देखिएको उपस्थितिले यसको पुष्टि गरिसकेको छ,’ उनले भने,‘पदका लागि मात्र पार्टी फुट्नु दुर्भाग्यपूर्ण हो।’
अध्यक्ष यादवले महाधिवेशनमा देशभरका सबै समुदाय, नेपालका राजनीतिक दलका साथै विदेशी राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिताले जसपा नेपाल राष्ट्रिय दल भएको प्रष्ट भएको जिकिर गरे।
उनले पार्टीको महाधिवेशन पूर्णरूपमा सफल भएको दाबी गरे।
जसपा नेपालको महाधिवेशन जेठ २८–३० गतेसम्म जनकपुरधाममा भएको थियो।
Leave a Reply