मध्यरातमा गोली हानेर पर्सा प्रहरीले समात्यो ‘मोस्ट वान्टेड’ बब्लुलाई

जनकपुरधाम- भारतका एक फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले भारतीय नागरिक ४० वर्षीय बब्लु पासवानलाई गोली प्रहार गरेर मध्यरातमा पक्राउ गरेको हो।

पक्राउ परेका पासवान २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मद हत्याकान्डका मुख्य योजनाकार र सुटर रहेको प्रहरीले जनाएको छ।

लालमहम्मद हत्याकान्डपछि फरार रहेका पासवान प्रहरीको ‘मोस्ट वान्टेड’ को सूचीमा थिए।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले पासवानलाई आइतबार राति ११ बजेतर्फ वीरगञ्ज–१६ भुटनीदेवी मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।

उनी त्यस क्षेत्रमा लुकेर बसेको प्रहरीलाई सूचना प्राप्त भएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो।

एक राउन्ड गोली खुट्टामा लागेर ढलेपछि प्रहरीले पासवानलाई नियन्त्रणमा लिएको थियो।

नारायणी अस्पतालमा उपचार गराइ पासवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

डिएसपी थापाका अनुसार पक्राउ परेका पासवान लागुऔषध कारोबारीसमेत हुन्।

उनको साथबाट एक थान पेस्तोल र केही राउन्ड गोलीका साथै केही परिमाणमा लागुऔषधसमेत बरामद भएको थापाले बताए।

पक्राउ परेका पासवानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *