जनकपुरधाम- मधेस प्रदेसमा नयाँ सरकार गठनका लागि चार दलले बिहीबारै दाबी पेस गर्ने तयारी गरेको छ।
प्रदेस प्रमुख सुमित्रा भण्डारीले शुक्रबार बिहान १० बजेसम्मको समयसीमा दिए पनि एमाले, जनमत, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) ले सरकार गठनका लागि आजै दाबी पेस गर्न लागेको हो।
चार दलबीच मन्त्रालय बाँडफाँड लगभग टुङ्गिएकोले साँझसम्म प्रदेस प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने तयारी भइरहेको माओवादी केन्द्रका एक प्रदेस सांसदले जानकारी दिए।
ती सांसदका अनुसार जनमत पार्टीलाई मुख्यमन्त्रीसहित दुई, नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई दुई र नेकपा(एकीकृत समाजवादी) लाई दुई मन्त्रालय दिनेगरी सहमति भएको छ।
‘मन्त्रालय बाँडफाँडमा लगभग टुङ्गो लागिसकेको छ, केही कुरा मिलाउन बाँकी छ,’ ती सांसदले भने,‘अन्तिम सहमति भएसँगै सरकार गठनका लागि आजै दाबी पेस गर्नेछौं।’
माओवादी केन्द्र मधेस प्रदेस संसदीय दलका नेता भरतप्रसाद साहले पनि प्रदेस प्रमुखसमक्ष आजै दाबी पेस गर्नेगरी तयारी भइरहेको बताए।
‘मन्त्रालय बाँडफाँडका विषयमा हामी छलफलमा छौं, सहमति भएलगत्तै सरकार गठनका लागि दाबी पेस गर्ने छौं,’ उनले भने।
जनमत पार्टीलाई मुख्यमन्त्री दिनेगरी एमाले, माओवादी केन्द्र र जनमत पार्टीबीच यसअघि नै सहमति भइसकेको छ।
जनमत पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेससभा सदस्यमा निर्वाचित सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
जनमतले तत्काल मुख्यमन्त्रीमा सिंह र सप्तरीबाटै समानुपातिक कोटामा प्रदेससभा सदस्यमा निर्वाचित रञ्जु खङ्गलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ।
यसअघि संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्रीमा पठाउने भनिए पनि जनमतले सिंहलाई अघि सारेको हो।
यादव यसअघि प्रदेस सरकारमा शिक्षा मन्त्री भइसकेकाले यसपालि सिंहलाई अघि सारिएको बताइएको छ।
जनता समाजवादी पार्टी (नेपाल) बाट मुख्यमन्त्री भएका सरोजकुमार यादवले बुधबार प्रदेससभामा विश्वासको मत गुमाएपछि मधेसमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।
मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ८ र राप्रपाका १ गरी ५० सांसदले मत हालेका थिए।
त्यस्तै उनको प्रस्तावको विपक्षमा एमालेका २४, माओवादी केन्द्रका ९, जनमतका १३ र एकीकृत समाजवादीका ७ गरी ५३ मत परेको थियो।
सिंहको नेतृत्वमा बन्न लागेको सरकारलाई १÷१ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी नेपालले समर्थन जनाउने बताइएको छ।
यी दुई दलले समर्थन जनाउँदा सिंहको पक्षमा ५५ सांसद हुनेछन्।
१०६ सदस्यीय (एक जना निलम्बित) प्रदेससभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ।
Leave a Reply