जनकपुरधाम- आगामी शुक्रबार अप्रिल १९ का दिन भारतमा संसदीय निर्वाचन सुरू हुँदैछ।
विभिन्न स्थानमा विभिन्न चरणमा हुने यो निर्वाचन सकिन ६ साता लाग्नेछ।
भारतमा झन्डै ९७ करोड मतदाता छन्। नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) तेस्रोपटक सरकार बनाउने योजनामा छ।
भारत परमाणुअस्त्र भएका र चन्द्रमामा यान अवतरण गराउने विश्वका थोरै देशमध्ये पर्छ। सन् २०१९ को निर्वाचनपछि यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र बनेको छ।
भारत बेलायतलाई उछिनेर पाँचौं ठूलो अर्थतन्त्र पनि बनिसकेको छ।
धेरैले भारत अर्को ‘विश्वशक्ति’ बन्ने भविष्यवाणी गरेका छन्। तर, उसको उदयलाई आशा र सावधानीका साथ हेरिएको छ।
‘भारत विश्वको विकास लागि इन्जिन हुनेछ,’ मोदीले गत अगस्तमा दक्षिण अफ्रिका भ्रमणका क्रममा भनेका थिए।
भारतले सन् २०२३ को अन्तिम तीन महिनामा ८.४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी विश्वको सबैभन्दा तीव्र वृद्धि भएका प्रमुख अर्थतन्त्रको रूपमा आफूलाई स्थापित गरेको छ।
कुल गार्हस्थ्य उत्पादन (जिडिपी) का आधारमा विश्वका अर्थतन्त्रहरू कुन स्थानमा पर्छन् भनेर हेर्न सकिन्छ। त्यसमा कम्पनी, सरकार र देशका व्यक्तिहरूको आर्थिक गतिविधि मापन गरिन्छ।
अमेरिकी इन्भेस्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीलगायत कैयौं वित्तीय संंस्थाका अनुसार भारत सन् २०२७ सम्म जर्मनी र जापानलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ।
उदीयमान अर्थतन्त्र
सबैभन्दा उल्लेखनीय कुरा के हो भने सन् १९४७ मा स्वतन्त्रता प्राप्त गर्दा यो विश्वको सबैभन्दा गरिब देशहरूको सूचीमा पथ्र्यो।
लामो ब्रिटिस शासनकालमा यो राष्ट्रले अपर्याप्त पूर्वाधार र बढ्दो जनसंख्याका निम्ति खाद्यान्न पनि पु¥याउन नसक्ने कृषि क्षेत्र भएको अवस्थाको सामना गरेको थियो।
त्यो बेला भारतीयहरूको औसत आयु ३५ वर्ष थियो। त्यो अहिले बढेर लगभग दोबर अर्थात ६७ वर्ष भएको छ।
विश्व बैंकका अनुसार विश्वव्यापी औसत आयु ७१ वर्ष छ।
विश्व बैंकका अनुसार भारत विश्वको दशौं ठूलो निर्यातकर्ता राष्ट्र हो।
भारतले प्रशोधित तेल, हीरा र औषधि निर्यात गर्छ। भारतको आर्थिक विस्तारमा सेवा उद्योग र दूरसञ्चार तथा सफ्टवेयर उद्योगमा भएको व्यापक विकासले महत्वपूर्ण भूमिका खेलेको छ।
तर, रोजगारीको अवसर सोही गतिमा विस्तार नभएको अर्थशास्त्रीहरू बताउँछन्।
एचएसबीसीको एउटा विवरणअनुसार जनसंख्या वृद्धिको हिसाबले भारतले आगामी दशकमा सात करोड जनालाई रोजगारी दिनुपर्ने हुन्छ।
तर, त्यसको एकतिहाइभन्दा बढी रोजगारी सिर्जना गर्ने सम्भावना देखिँदैन।
विस्फोटक जनसंख्या
भारतमा धेरै विकसित देशहरूको तुलनामा युवा जनसंख्या अधिक छ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२२ मा भारतीय जनसंख्याको मध्यवर्ती उमेर २८.७ वर्ष थियो। त्यस्तो उमेर चीनमा ३८.४ र जापानमा ४८.६ वर्ष थियो।
अहिले भारतको कुल जनसंख्या १ अर्ब ४० करोड छ। भारतीय अर्थशास्त्री बशर चक्रवर्ती र गौरव डालमियाले सन् २०३० सम्ममा काम गर्ने उमेर समूहका मानिसको संख्या १ अर्ब नाघ्ने अनुमान गरेका छन्।
उनीहरूले ‘हार्भड बिजनेस रिभ्यू’ लाई जापान र चीनलगायत अन्य एसियाली अर्थतन्त्रहरूको अनुभवले आर्थिक वृद्धि ‘काम गर्ने उमेर समूहको जनसंख्यामा वृद्धि’ मा निर्भर रहेको बताएका छन्।
तर, त्यस्तो जनसंख्यालाई स्थिर राख्न निकै कठिन हुनसक्छ।
राष्ट्रसंघका अनुसार विदेशमा बस्ने भारतीयको संख्या धेरै छ। भारतका झन्डै १ करोड ८० लाख मानिस विदेशमा बस्छन् भने प्रत्येक वर्ष २५ लाख मानिस विदेसिन्छन्। त्यसमा केही उच्च शिक्षा हासिल गरेका मानिस हुन्छन्।
विदेश मन्त्रालयको तथ्यांकमा भारतीय नागरिकता त्याग्नेहरूको विवरण हेर्दा धेरै भारतीयहरू अनिश्चितकालसम्म विदेशमा बस्न खोजिरहेको देखिन्छ।
भारतले दोहोरो नागरिकतालाई मान्यता दिँदैन।
सन् २०२२ मा २ लाख २५ हजारभन्दा बढीले आफ्नो भारतीय नागरिकता रद्द गराएका छन्। त्यो भनेको विगत एक दशकमा सबैभन्दा उच्च हो।
धेरैका लागि स्वदेशमै रहेर रोजगारी खोज्ने काम चुनौतीपूर्ण छ।
सरकारी तथ्यांकले भारतको बेरोजगारी दर ८ प्रतिशत देखाउँछ। त्यस्तो दर अमेरिकामा ३.५ प्रतिशतमात्र छ।
यही मार्च महिनामा अन्तर्राष्ट्रिय श्रम संंगठनले १५ देखि २९ वर्ष उमेरका समूहकामध्ये ८३ प्रतिशत मानिसहरू बेरोजगार पाइएको जनाएको छ र तीमध्ये अधिकांश कम्तीमा माध्यमिक शिक्षा प्राप्त गरेका छन्।
कामकाजी महिला कता हराए
सरकारका अनुसार भारतमा श्रम क्षेत्रमा रहेका महिलाको अनुपात ३३ प्रतिशत छ।
यस्तो अनुपात अमेरिकामा ५६.६, चीनमा ६०.५ र विश्वव्यापी औसत ४९ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ।
विगतको तुलनामा धेरै भारतीय महिलाहरू अहिले शिक्षित बनेकाले विवाह गरेर घरमै बस्ने परम्परा घटेको ठानिन्छ।
बैंगलुरूमा रहेको अजिम प्रेमजी विश्वविद्यालयमा अर्थशास्त्री प्राध्यापक अश्विनी देशपाण्डेका अनुसार धेरै कामकाजी महिलाहरू स्वरोजगार छन् र कमजोर अवस्थामा छन्।
‘नियमित तलबभत्ता पाउने खालका जागिर र सामाजिक सुरक्षाको सुविधासहितका रोजगारीमा महिलाको सहभागिता बढाउन आवश्यक छ,’ उनी भन्छिन्।(बिबिसीबाट)
Leave a Reply