भारतमा लोकसभा निर्वाचन : २१ राज्यमा पहिलो चरणको मतदान सुरू

जनकपुरधाम – भारतमा लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान सुरू भएको छ।

२१ राज्य र केन्द्र शासित प्रदेसको १०२ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरू भएको हो।

पहिलो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलका ८ सदस्य, तीन पूर्वमुख्यमन्त्री र एक पूर्वराज्यपाल चुनावी मैदानमा छन्।

पहिलो चरणमा अरुणचाल प्रदेस, बिहार, छत्तिसगढ, मध्य प्रदेस, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागालैन्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेस, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुद्दुचेरीमा मदतान भइरहेको छ।

उत्तर प्रदेसको ८, पश्चि बंगालका ३, बिहारको ४, जम्मु–कश्मीरको १ सिटमा मतदान हुँदैछ।

त्यस्तै महाराष्ट्रको ५, मध्य प्रदेसको ६, असमको ५, छत्तिसगढको १, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको सबै ३९ सिटका लागि मतदान हुन लागेको हो।

उत्तराखण्डको पाँचमध्ये सबै स्थानका लागि मतदान हुँदैछ। त्यस्तै अरुणचालको २, अन्डमानको १ र लक्षद्वीको १ सिटका लागि मतदान सुरू भएको छ।

मेघालयको २, मिजोरमको १ पद्दुच्चेरीको १ र सिक्किमको १ सिटका लागि मतदान हुँदैछ।

सात चरणगरी जुन १ तारेखसम्म चल्ने चुनावमा झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य रहेका छन्।

यो निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्।

मोदीलाई चुनौती दिन कैयौं विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्। चुनावको परिणाम जुन ४ मा घोषणा हुनेछ।

चुनावको महत्व

भारतको संसद दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ।

शुक्रबार लोकसभा सदस्यहरू चुन्नका लागि मतदान हुन लागेको हो।

भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्।

चुनावमा बहुमत पु¥याउन ५४३ मध्ये २७२ सिटमा जित आवश्यक हुन्छ।

अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट ल्याएको थियो।

अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ।

कांग्रेससहित दुई दर्जनभन्दा बढी दल मिलेर ‘इन्डिया’ गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्।

सन् २०१४ मा भाजपाको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कांग्रेसको दबदबा थियो।

रोमाञ्चक निर्वाचन

भारतको निर्वाचन प्रक्रिया लामो, विशिष्ट र रोमाञ्चक रहने कैयौंले बताउने गरेका छन्।

त्यहाँ योग्य मतदाताको संख्या नै ९६ करोड ९० लाख रहेको छ जुन संसारकै सबैभन्दा ठूलो संख्या हो।

निर्वाचनका लागि १५ लाख मतदान केन्द्र स्थापना गरिएको छ र ५५ लाख विद्युतीय भोटिङ मसिन प्रयोग गरिएको छ।

निर्वाचन आयोगले १ करोड ५० लाख निर्वाचन र सुरक्षा अधिकारीलाई तालिम दिएर खटाएको र उनीहरूको आवतजावतका लागि ४ लाख सवारी साधन प्रयोग गरिने जनाएको छ।

अधिकारीहरूले दोस्रो चरणको मतदान ८८ सिटका लागि अप्रिल २६ मा हुने जनाएका छन्।

भारत संसारकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो। त्यहाँका २८ राज्य र ८ केन्द्र शासित राज्यका प्रत्येक योग्य मतदाताले भोट खसाल्ने अवसर पाउनेछन्।

यो अभ्यास डेढ महिनासम्म चल्नेछ र चुनावलाई योजनाबद्ध तथा शान्तिपूर्ण ढंगले सञ्चालन गर्न व्यापक तयारी आवश्यक पर्छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *