भारतमा छैठों चरणको मतदान : कैयौं ‘दिग्गज’ चुनावी मैदानमा

जनकपुरधाम- भारतमा लोकसभा चुनावको छैठौं चरणअन्तर्गत शनिबार एक केन्द्रशासित प्रदेससहित ८ राज्यका ५८ सिटका लागि मतदान भइरहेको छ।

छैठौं चरणअन्तर्गत दिल्लीको सबै सात र हरियाणाका १० सिटका लागि मतदान भइरहेको हो।

यसबाहेक बिहारका ८, जम्मु–कश्मीरको १, झारखन्डका ४, ओडिसाका ६, उत्तर प्रदेसका १४ र पश्चिम बंगालका ८ सिटका लागि मतदान सुरू भएको छ।

ओडिसामा लोकसभाका साथै विधानसभाका लागि पनि मतदान भइरहेको छ। त्यहाँ ४२ सिटमा चुनाव भइरहेको हो।

ओडिसामा चार चरणमा विधानसभा चुनाव भइरहेको छ।

लोकसभा चुनावको यो चरणमा कैयौं महत्वपूर्ण सिट छन्, जहाँ कतिपय दिग्गज नेताहरूको भविष्य इभिएममा कैद हुनेछ।

छैठों चरणमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता संबित पात्रा ओडिसाको पुरीबाट प्रतिस्पर्धा गरिरहेका छन्।

जम्मु–कश्मीरको अनन्तनाग राजौरी सिटबाट पिडिपी प्रमुख महबुबा मुफ्ती चुनावी मैदानमा छिन्।

त्यस्तै उत्तर प्रदेसको सुल्तानपुर सिटबाट पूर्वकेन्द्रीयमन्त्री मेनका गान्धी प्रतिस्पर्धा गरिरहेकी छन्।

यसपालि उनका छोरा बरुण गान्धीलाई भाजपाले टिकट दिएको छैन। केही दिनसम्म चुनाव प्रचारमा सहभागी नभएका उनले आमाका लागि प्रचारप्रसारमा जुटेका थिए।

त्यस्तै हरियाणाका पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर भाजपाबाट हरियाणाको करनाल सिटबाट चुनावी मैदानमा उत्रिएका छन्।

दिल्लीमा आम आदमी पार्टी र कांग्रेसले गठबन्धन गरेको छ। यहाँ चार सिटमा आम आदमी पार्टी र तीन सिटमा कांग्रेस चुनाव लडिरहेको छ।

नयाँ दिल्लीबाट भूतपूर्व केन्द्रीयमन्त्री सुषमा स्वराजकी छोरी बाँसुरी स्वराज चुनावी मैदानमा छिन्। पेशाले वकिल रहेकी उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्।

त्यस्तै दिल्लीको उत्तर पूर्वी लोकसभा सिटबाट भाजपाका वर्तमान सांसद र भोजपुरी गायक मनोज तिवारी र कांग्रेसका प्रत्यासी जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमार आमने–सामने छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *