जनकपुरधाम- लोकसभा चुनावको सातौं एवं अन्तिम चरणअन्तर्गत शनिबार भारतमा मतदान भइरहेको छ।
अन्तिम चरणअन्तर्गत ८ राज्य एवं केन्द्रशासित प्रदेससहित ५७ सिटमा मतदान भइरहेको हो।
साथै ओडिसा विधानसभाका लागि ४२ सिटमा पनि मतदान भइरहेको छ।
यो चरणमा करिब १०.०६ करोड मतदाता १०.९ लाख मतदान केन्द्रमा मतदान गर्नेछन्। जसमध्ये ५.२४ करोड पुरुष र ४.८२ करोड महिला मतदाता छन्।
अन्तिम चरणअन्तर्गत बिहार, हिमाचल, झारखन्ड, ओडिसा, पञ्जाब, उत्तर प्रदेस, पश्चिम बंगाल र चन्डीगढमा मतदान भइरहेको छ।
यो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, रविशंकर प्रसाद, अनुराग ठाकुर, कंगना रनौत, रवि किशनजस्ता नेताहरू चुनावी मैदानमा छन्।
उत्तर प्रदेसको वाराणसी लोकसभा सिटबाट प्रधानमन्त्री मोदी तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन्।
उनी सन् २०१४ देखि लगातार यो क्षेत्रबाट चुनाव लडिरहेका छन्। २०१९ को लोकसभा चुनावमा उनलाई त्यो क्षेत्रबाट ६ लाख ७४ हजारभन्दा बढी मत प्राप्त भएको थियो।
दोस्रो स्थानमा समाजवादी पार्टीकी प्रत्याशी शालिनी यादव र तेस्रो स्थानमा अजय राय रहेका थिए।
यसपालि मोदीको प्रतिस्पर्धा ‘इन्डिया’ गठबन्धन र कांग्रेस नेता अजय रायसँग भइरहेको छ। पछिल्ला दुई चुनावमा राय मोदीविरूद्ध दोस्रो स्थानमा समेत पुग्न सकेका थिएनन्।
२०१४ को लोकसभा चुनावमा पहिलोपटक यो क्षेत्रबाट चुनाव लड्दा मोदीले ५ लाख ८१ हजारभन्दा बढी मत पाएका थिए।
आम आदमी पार्टीका अरविन्द केजरीवालले २ लाखभन्दा बढी मत ल्याउँदा रायले ७५ हजार मत प्राप्त गरेका थिए।
Leave a Reply