काठमाडौं- भारतको टाटा ग्रुप अफ कम्पनिजको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको छ।
यसले टाटालाई भारतको सबैभन्दा मजबुत कम्पनी त बनाएको छ नै, साथै उसको यो सम्पत्ति पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा धेरै बढी छ।
रिलायन्स ग्रुपका प्रमुख मुकेश अम्बानी विश्वकै सबैभन्दा धनी मानिसहरूको सूचीमा सामेल भएको वा अर्बपति व्यापारी गौतम अदानीले उनलाई पछ्याएको अधिकांश समय सुनिन्छि। तर, यो दौडमा टाटाको चर्चा कमै सुनिन्छ।
चियादेखि जैगुआर ल्यान्ड रोवर कार र नुन उत्पादनदेखि जहाज उडाउने र होटल ग्रुप सञ्चालनसम्म जीवनको विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ।
टाटा ग्रुपको मार्केट क्यापिटलाइजेसन यो वर्षको फ्रेबुअरीमा करिब ३६५ अर्ब डलर रह्यो जबकि हालसालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानको जिडिपी करिब ३४१ अर्ब डलर रहेको अनुमान गरेको थियो।
टाटा कन्स्लटेन्सी सर्भिसको मात्रै कुरा गर्ने हो भने उसको सम्पत्ति १७० अर्ब अमेरिकी डलर रहेको छ। भारतको यो दोस्रो ठूलो कम्पनी रहेको छ जसको सम्पत्ति पाकिस्तानको आर्थिकीको करिब आधा छ।
टाटा कम्पनीको स्थापना
यो सबै एक दिनमा भएको होइन। यसका लागि १५० वर्षभन्दा बढीको समय लागेको छ। तर, यो जीवनको कैयौं क्षेत्रमा भारतको पहिलो कम्पनी रहेको छ।
८ फेब्रुअरी सन् १९११ मा लोनावाला ड्यामको आधारशीला राख्दै त्यो बेलाको टाटा ग्रुपका प्रमुख सर दोराबजी टाटाले आफ्नो पिता जमशेदजी टाटाको सोचबारे बताएका थिए, जसले सन् १८६८ मा यो कम्पनीको जग बसालेका थिए।
यतिबेला यो ३० कम्पनिको समूह बनिसकेको छ, जसले ६ महादेशमा सयभन्दा बढी मुलुकमा आफ्नो सेवा दिइरहेको छ।
दोराबजी टाटाले भनेका थिए,‘मेरो पिताजीका लागि पैसा कमाउनु पछिको कुरा थियो। उहाँ भारतका नागरिकलाई औद्योगिक र वैचारिक स्थितिलाई राम्रो बनाउने कामलाई प्राथमिकता दिनुहुन्थ्यो। उहाँले आफ्नो जीवनकालमा विभिन्न संस्थाहरूको सुरूवात गर्नुभयो, उहाँको उद्देश्य ती महत्वपूर्ण क्षेत्रहरूको विकास थियो।’
भनिन्छ १९ औं शताब्दीको अन्त्यतिर टाटाका संस्थापक जमशेदजी टाटालाई मुम्बईको एक महँगो होटलमा उनको पहिरनका कारण भित्र जान दिइएको थिएन।
जमशेदजीमाथि यो घटनाको गहिरो असर प¥यो। र, उनले त्यो होटलभन्दा राम्रो होटल बनाउने निर्णय गरे जसमा सबै भारतीय नागरिकलाई प्रवेश गर्ने अनुमति हुनेछ।
पहिलो लग्जरी होटल
सन् १९०३ मा मुम्बईको समुद्र छेउमा ताज होटलको स्थापना भयो। यो सहरको पहिलो भवन थियो जसमा बिजली, अमेरिकन पंखा र जर्मन लिफ्टजस्तो सुविधा थियो।
त्यसमा अंग्रेजहरू काम गर्दथे। अब यसका शाखाहरू अमेरिका र ब्रिटेनसहित ९ देशमा छ।
जमशेदजी सन् १८३९ मा एक पारसी परिवारमा जन्मिएका थिए। उनको पूर्वजमा कैयौं पारसी धर्म गुरुहरू थिए।
उनले कपास, चाय, तामा, पितल र अफिम (त्यतिबेला यसको कारोबार गैरकानुनी थिएन) मा धेरै पैसा आर्जन गरे।
उनी विश्वभर घुम्ने मानिस थिए र नयाँ आविस्कारबाट ज्यादै प्रभावि हुन्थे।
ब्रिटेनको एक भ्रमणका क्रममा लंकाशरमा कपास फ्याक्ट्री घुमेपछि भारत आफ्नो उपनिवेशवादी मालिकसँग प्रतिस्पर्धा गर्न सक्ने उनलाई भान भयो।
पहिलो टेक्सटाइल कम्पनी
त्यसैले सन् १८७७ मा जमशेदजीले महारानी मिल्स नामबाट देशकै पहिलो टेक्सटाइल मिल सञ्चालन गरे। महामारी भिक्टोरियाले भारतको महारानीका रूपमा पदभार ग्रहण गरेकै दिन महारानी मिल्सको उदघाटन भएको थियो।
उनले भनेका थिए,‘कुनै पनि समुदायको विकासका लागि सबैभन्दा कमजोरलाई सहारा दिनुभन्दा योग्य र प्रतिभावान मानिसलाई मदत गर्न जरूरी हुन्छ, जसले आफ्नो देशका सेवा गर्न सकोस्।’
पहिलो औद्योगिक सहर
स्टील कारखाना बनाउने उनको ठूलो सपना थियो। तर, सपना पूरा हुनुअगावै उनको निधन भयो। त्यसपछि उनका छोरा दोराबजीले बुबाको सपना पूरा गरे।
सन् १९०७ मा टाटा स्टीलले उत्पादन सुरू ग¥यो। भारत एसियाकै पहिलो देश बन्यो जहाँ स्टील कारखाना स्थापना भएको थियो।
यो कारखानानजिक एउटा सहर नै बन्यो, जसलाई जमशेदपुर नाम दिइयो। आज यो भारतको स्टील सिटीले चिनिन्छ।
जमशेदजीले आफ्नो छोरा दोराबलाई पत्र लेखेर औद्योगिक सहर बनाउन भनेका थिए, उनले लेखेका थिए,‘यो सहरका सडकहरू फराकिलो हुनुपर्छ। रूख, खेल मैदान, पार्क र धार्मिकस्थलका लागि ठाउँ हुनुपर्छ।’
टाटाले कुनै कानुनी प्रतिबन्धनविना स्वयंले कर्मचारीहरूको कल्याणका लागि नीति बनायो। जसमा १८७७ मा पेन्सन, १९१२ मा ८ घन्टा काम र १९२१ मा आमा बन्ने महिलाहरूका लागि छुट दिने सामेल थियो।
पहिलो हवाइसेवा
टाटा परिवारका एक सदस्य जहाँगीर टाटा १९३८ मा ३४ वर्षको उमेरमा कम्पनीको चेयरम्यान बने र लगभग आधा शताब्दीसम्म यो पदमा रहे।
उनलाई उद्योपतिभन्दा पाइलट बन्ने चाहना थियो। जेआरडी बम्बे फ्लाइंग क्लबबाट भारतमा पाइलटको तालिम लिने पहिलो व्यक्ति थिए। उनको हवाइ लाइसेन्सको नम्बर १ थियो, जसमा उनलाई ज्यादै गर्व थियो।
उनले भारतको पहिलो हवाइ हुलाकसेवा सुरू गरे। त्यो उडानमा हुलाकसेवाका साथै यात्रुलाई पनि लगन्थ्यिो।
पछि त्यही हुलाकसेवा भारतको पहिलो एयरलाइन ‘टाटा एयरलाइन’ बन्यो, जसलाई केही समयपछि नाम परिवर्तन गरेर ‘एयर इन्डिया’ गरियो।
पछि ‘एयर इन्डिया’ लाई सरकारले आफ्नो स्वामित्वमा लियो। तर, टाटाले फेरि त्यो कम्पनीलाई सरकारबाट खरिद गरिसकेको छ।
एयर इन्डिया फिर्ता लिइसकेपछि अब टाटा सन्ससँग तीन एयरलाइन्सहरू छन्। एयर इन्डियाबाहेक ‘एयर विस्तारा’ रहेको छ जसको सिंगापुर एयरलाइन्ससँग साझेदारी छ। त्यस्तै मलेसियाको साझेदारीमा ‘एयर एसिया’ पनि टाटाकै एयरलाइन्स हो।
कम्प्युटरको दुनियाँमा पनि पाइला
भारत सरकारले यसअघि टाटा ग्रुपका प्रमुख जेआरडी टाटालाई एयर इन्डियाको चेयरम्यान बनायो र उनी १९७८ सम्म यो पदमा रहे। त्यसपछि त्यो पदमा भारत सरकारको पदाधिकारी नियुक्त हुन थाले।
१९६८ मा उनले परिवारको परम्परालाई कायम राख्दै एक त्यस्तो कारोबारको सुरूवात गरे जसमा केवल विकसित मुलुकहरू देखिन्थे।
त्यो कारोबार कम्प्युटरसँग सम्बन्धित रहेको थियो।
‘टाटा कन्सल्टेन्सी सर्भिसेज’ अर्थात ‘टिसिए’ नामक यो कम्पनी विश्वभर सफ्टवेयर निर्यात गरिरहेको छ। यो समय टाटा ग्रुपमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीमधये यो एक हो।
सन् १९९१ मा उनको टाढाका एक आफन्तले रतन टाटाको कम्पनीको जिम्मेवारी सम्हाले। र, उनको नेतृत्वमा टाटाले विश्वभर आफ्नो कारोबार बढायो।
टाटाले टेटली चिया, एआइजी इन्सोरेन्स कम्पनी, बौस्टनमा रिट्ज कार्लटन, दाएबुको गाडी बनाउने युनिट र कोरस स्टील युरोपजस्ता कम्पनीहरू खरिद ग¥यो।
अहिलेको टाटा र सफलताको रहस्य
टाटा सन्स टाटा कम्पनीहरूको मूल पुँजी निवेश होल्डिङ कम्पनी र प्रमोटर रहेको छ।
टाटा सन्सको इक्विटी सेयर क्यापिटलको ६६ प्रतिशत परोपकारी मानिसहरूसँग रहेको छ, जसले शिक्षा, स्वास्थ्य, रोजगारी र कलासंस्कृतिको क्षेत्रमा सहयोग गर्ने गरेको छ।
टाटा कम्पनीले अहिले कम्पनीको सम्पत्तिको आँकडा सार्वजनिक गरेको छैन। तर, ३१ जुलाई २०२३ सम्म उसले आफ्नो सम्पत्ति ३ सय अर्ब डलर रहेको बताएको थियो।
कम्पनीमा विश्वभर १० लाखभन्दा बढी कर्मचारी काम गरिरहेको उसले जानकारी दिएको थियो। (बिबिसीबाट)
Leave a Reply