काठमाडौं- बागमती प्रदेसका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्।
दिउँसो १ बजे बस्ने प्रदेससभा बैठकमा जम्कट्ट्लले विश्वासको मत लिने तयारी गरेका हुन्।
हाम्रो नेपाल पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर जम्कट्टेलले विश्वासको मत लिने वातावरण तयार पारेका छन्।
संवैधानिक व्यवस्थाअनुसार चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने भए पनि उनले १९ गते नै विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री नियुक्त भएयता जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
२०७९ पुसमा प्रदेसका ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको उनले त्यतिबेला प्रदेससभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएका थिए।
गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समीकरण बनेको छ।
मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत प्राप्त गर्नेमा ढुक्क देखिए पनि सत्ता साझेदार दल एकीकृत समाजवादी भने यथास्थितिमा विश्वासको मत दिन नसकिने बताएको छ।
आइतबार अपराह्न बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो।
बागमी प्रदेसमा ७ सिट रहेको एकीकृत समाजवादी आफ्नो निर्णयमा अडिग रह्यो भने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस नहुने अवस्था देखिएको छ।
निर्णय बदलिएको खण्डमा भने जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नेछन्।
यता प्रदेसको सबैभन्दा ठूलो दल कांग्रेसले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
कांग्रेस बागमती प्रदेस सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीका सम्पूर्ण सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।
११० सदस्य रहेको बागमी प्रदेससभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५६ मत आवश्यक पर्छ।
बागमतीमा कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
Leave a Reply