जनकपुरधाम- अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन्।
भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकाको कुनै पनि राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो।
अदालतले जुलाई ११ मा उनीविरूद्ध सजाय सुनाउने छ।
ट्रम्पलाई जेल सजाय पनि हुनसक्छ। यद्यपि कानुनविदहरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन्।
ट्रम्पले यो फैसलालाई ‘कलंक’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्।
राष्ट्रपति जो बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो।
यो मामिलामा अदालतले २२ प्रत्यक्षर्दीसँग ६ सातासम्म बयान लिएको थियो। बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्।
ट्रम्पका एक वरिष्ठ अधिवक्ताले ‘फक्स न्युज’ लाई बताएअनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि ‘सबै उपायमाथि छलफल’ गरिरहेको बताएका छन्।
अदालतको निर्णय वर्तमान अमेरिकी प्रशासनका लागि ठूलो जित भएको म्यान्हटनका पूर्वअभियोजक डङ्कन लेभिनले बताएका छन्।(बिबिसीबाट)
Leave a Reply