जनकपुरधाम- उच्च अदालत जनकपुरको न्यायाधीशविरूद्ध प्रदर्शन भएको छ।
फैसला गर्दा ‘अन्याय’ गरेको भन्दै उच्च अदालत जनकपुर इजलास नम्बर ४ का न्यायाधीश किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालविरूद्ध पीडितपक्षले प्रदर्शन गरेको हो।
धनुषाको सबैला नगरपालिकाकास्थित मदन आश्रित निमावि विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा २०७१ चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरूलाई सफाइदिएपछि पीडितपक्षले असन्तुष्टि जनाउँदै आइतबार अदालतअगाडि प्रदर्शन गरेका हुन्।
धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका ३ जना र १ वर्षको कैद सजाय पाएका बाँकी प्रतिवादीलाई उच्च अदालत जनकपुरले सफाइ दिएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका हुन्।
प्रतिवादीलाई सफाइ दिने फैसला गर्ने न्यायाधीशद्वयलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने मागसहित जनकपुरधामको नगर परिक्रमा गर्दै प्रदर्शन गरेको पीडित सञ्जीव राउत गडेरीले बताए।
यसअघि घटनामा मारिएका रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै फैसलाविरूद्ध नाराबाजी गरेका थिए।
नाराबाजी गरेको भन्दै तत्कालै पक्राउ परेका सञ्जीव र रामसागर अदालतको अवहेलना मुद्दा ३÷३ रूपैयाँमा छुटेका थिए।
जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका महेन्द्र यादव, महेश यादव र रामबिहारी भन्ने लालबिहारी यादवसहित १ वर्षको कैद सजाय पाएका १९ जनालाई २२ चैतमा उच्च अदालत जनकपुरले जिल्लाको फैसला पल्टाउँदै सफाइ दिएको थियो।
सबैला नगरपालिका १ स्थित मदन आश्रित निमावि व्यवस्थापन समिति गठन विवादपछि २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो।
Leave a Reply