
सुरूवात भएको बेला फेसबुक
काठमाडौं – माथिको तस्बिर हेर्नुहोस् त! मार्क जकबर्गले आफ्ना केही साथीसँग मिलेर दुई दशकअघि सुरू गर्दा फेसबुक यस्तो देखिन्थ्यो।
त्यसबेलादेखि आजसम्म आइपुग्दा यो सामाजिक सञ्जालमा धेरै प्रकारका परिवर्तन भइसके।
फेसबुकले दर्जनौं नयाँ डिजाइन फेरिसक्यो। केही विद्यार्थीले अमेरिकामा सुरू गरेको एउटा परियोजना आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ।
यद्यपि यसको उद्देश्य भने फेरिएको छैन। यसको उद्देश्य आज पनि मानिसहरूलाई इन्टरनेटको माध्यमबाट नजिक बनाउनु र विज्ञापनबाट आयआर्जन गर्नु हो।
फेरियो सामाजिक सञ्जालको परिभाषा
फेसबुकभन्दा अगाडि माइस्पेसजस्ता अरू सामाकिज सञ्जाल पनि थिए। तर, सन् २००४ मा सुरू भएको जकबर्गको यो वेबसाइट तत्काल लोकप्रिय बन्यो।
त्यसले यस किसिमको वेबसाइट कति चाँडो प्रभावशाली बन्न सक्छ भने देखायो।
स्थापनाको एक वर्ष नपुग्दै फेसबुकका प्रयोगकर्ता १० लाख पुगे। तस्बिरमा आफ्ना साथीहरूलाई ‘ट्याग’ गर्ने, ‘रिफ्रेस’ भइरहने ‘फिड’ जस्ता नयाँनयाँ सुविधा दिँदै चार वर्षभित्र यसले प्रतिस्पर्धी माइस्पेसलाई उछिन्यो।
सन् २०१२ सम्ममा एक अर्ब मानिसले मासिक रूपमा फेसबुक प्रयोग गरेका थिए। सन् २०२१ मा दैनिक सक्रिय प्रयोगकर्ता पहिलोपटक १ अर्ब ९२ करोडमा झरेको बेलाबाहेक प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको छ।
डिजिटल आवद्धता कम भएका मुलुकहरूमा सेवा विस्तार तथा निःशुल्क इन्टरनेटजस्ता सुविधा प्रदान गरी फेसबुक आफ्ना प्रयोगकर्ताको संख्या वृद्धि गर्न सफल भएको छ।
सन् २०१३ को अन्त्यमा फेसबुकले आफूसँग २ अर्बभन्दा बढी दैनिक प्रयोगकर्ता रहेको जानकारी दिएको थियो।
हुन त फेसबुक युवाहरूमाझ पहिलाको जति लोकप्रिय छैन। यद्यपि संसारको सर्वाधिक रूचाइएको सामाजिक सञ्जालको रूपमा कायमै छ। र, यसले संसारकलाई अनलाइन सामाजिक गतिविधिको एउटा नयाँ युगमा प्रवेश गराएको छ।
कसैले फेसबुक र योजस्ता कम्पनीलाई पारस्परिक सम्पर्क र सम्बन्ध बढाउने सशक्त माध्यम मानेका छन् भने कसैले हानिकारक कुलत पनि ठानेका छन्।
निजी डेटालाई मूल्यवान तर ‘कम व्यत्तिगत’ बनाइदियो
फेसबुकले हाम्रो रूचि र अरूचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो।
अहिले फेसबुकको माउकम्पनी मेटा विज्ञापन क्षेत्रको एउटा ठूलो खेलाडी हो। त्यसले विश्वव्यापी विज्ञापन बजारको ठूलो भाग ओगटेको छ।
सन् २०२३ को तेस्रो त्रैमासिकमा मेटाले ३४ अर्ब अमेरिकी डलर कमाएको देखिन्छ। त्यसमध्ये ११ अर्ब ५० करोड अमेरिकी डलर नाफा भएको कम्पनीले घोषणा गरेको थियो।
तर डेटा संकलन कहाँ आपत्तिजनक हुन्छ भन्ने कुरा फेसबुकसँग जोडिएका घटनाहरूले देखाएका छन्।
मेटाले व्यक्तिगत विवरण दुरूपयोग गरेको आरोपमा धेरैपटक जरिबाना तिर्नुपरेको छ।
सर्वाधिक चर्चामा आएको घटना सन् २०१४ को हो। क्याम्ब्रिज एनलिटिकको मामिलामा फेसबुकले ७२ करोड ५० लाख अमेरिकी डलर तिरेको थियो।
सन् २०२२ मा फेसबुकले आफ्नो साइटबाट जानकारी निकाल्न दिएको भनी युरोपेली संघलाई कम्पनीले २६ करोड ५० लाख युरो तिरायो।
गत वर्ष आयरल्यान्डको डेटा संरक्षण आयोगले युरोपेली प्रयोगकर्ताहरूको विवरण अधिकार क्षेत्रभन्दा बाहिर पठाएको भनी १ अर्ब २० करोड युरो जरिबाना तिर्न लगायो।
फेसबुकले यो निर्णयविरूद्ध पुनरावेदन गरेको छ।
इन्टरनेट राजनीतिको साधन
निश्चित समूहका प्रयोगकर्ताप्रति लक्षित विज्ञानको सेवा दिने भएकाले फेसबुक संसारभरि नै निर्वाचन प्रचारको मुख्य माध्यमका रूपमा उदाएको छ।
स्ट्याटिस्टा नामक संस्थाले गरेको अनुसन्धानले देखाएअनुसार तात्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियानले सन् २०२० को निर्वाचनअघिको पाँच महिनामा फेसबुक विज्ञानमा चार करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेको थियो।
फेसबुकले छरिएर रहेका समूहहरूलाई पारस्परिक सम्पर्क स्थापना गर्न अभियान सञ्चालन गर्न र विश्वव्यापी रूपमा नै संगठित हुन सक्षम बनाएर स्थानीय र क्षेत्रीय राजनीतिमा पनि प्रभाव पारेको छ।
अरब क्रान्तिलाई एउटा उदाहरण मान्न सकिन्छ।
त्यसबेला विरोध प्रदर्शनमा समन्वय गर्न र कुन ठाउँमा के भइरहेको छ भनेर समाचार फैलाउन फेसबुक र ट्विटर (हाल एक्स) ले महत्वपूर्ण भूमिका खेलको मानिन्छ।
तर, फेसबुकको राजनीतिक प्रयोगलाई मानव अधिकारलगायतका क्षेत्रमा नकारात्मक प्रभाव पारेको भनी आलोचना पनि गरिएको छ।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनले आफ्नो अनलाइन मञ्चको प्रयोग गरी म्यान्मारमा रोहिंगिया समुदायविरूद्ध भइरहेको ‘अफलाइन हिंसा’ भड्काउने कार्य रोक्न फेसबुक असफल बनेको औंल्याएको थियो।
फेसबुकले त्यसलाई अस्वीकार गरेन।
मेटाका प्रभुत्व स्थापित
फेसबुकको अपार सफलताले जकर्बर्गलाई अभूतपूर्व आकार र शक्ति भएको सामाजिक सञ्जाल तथा प्रविधिको साम्राज्य बनाउन सघायो।
फेसबुकल ह्वाट्स्याप, इन्स्टाग्राम र ओक्यूलसजस्ता स्थापित र नयाँ कम्पनीलाई किन्यो र सन् २०२२ मा आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा राख्यो।
अहिले तीन अर्ब मानिसले आफ्नो कुनै न कुनै सञ्जाल दैनिक रूपमा प्रयोग गर्ने दाबी मेटाको छ।
कुनै प्रतिस्पर्धी कम्पनी किन्न नसके मेटाले आफ्नो प्रभुत्व कायम राख्न त्यसको नक्कल गर्ने गरेको आरोप लागेको छ। फेसबुक र इन्स्टाग्राममा प्रयोग थपिएको ‘स्टोरी’ को फिचर स्न्यापच्याटमा भए जस्तै छ।
इन्स्टाग्रामको ‘रील’ मेटाले टिकटकको चुनौती सामना गर्न ल्याएको मानिन्छ र ‘थ्रेड्स’ मेटाको ट्विटरको नक्कल गर्ने प्रयास थियो।
बढ्दो प्रतिस्पर्धा र अझ कडा नियमनका कारण यस्तो रणनीति पहिलाभन्दा बढी आवश्यक भएको ठानिन्छ।
सन् २०२२ मा मेटाले घाटा खाएर गिफ निर्माता गिफी बेच्नुपरेको थियो।
अमेरिकाको नियामक निकायहरूले बजारमा एउटा कम्पनीको अत्यधिक वर्चस्व हुने डरले गिफीलाई मेटाको स्वामित्वमा रहन नदिने निर्णय गरेपछि ऊ त्यसो गर्न बाध्य भएको थियो।
अब २० वर्षमा के होला?
फेसबुकको उदय र प्रभावले यसको सान्दर्भिकता र जबर्कर्गको क्षमता दखाउँछन्।
तर, आगामी २० वर्षसम्म पनि ‘संसारको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल’ ररिरहन भने फेसबुकका लागि चुनौतिपूर्ण हुनेछ।
मेटाले प्रविधिको क्षेत्रमा रहेका एपलजस्ता प्रतिद्वन्द्वीहरूलाई सम्भवतः पछाडि पार्दै मेटाभर्सको अवधारणामा जोड दिँदैछ।
यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई प्राथमिकतामा राखेको छ।
यसरी कम्पनीको फेसबुकको प्रारम्भिक विन्दुबाट अझ पर जाँदै गर्दा सर्वव्यापी यो एप भविष्यमा कहाँ पुग्ला त्यो हेर्न रोचक हुनेछ। (बिबिसीबाट)
Leave a Reply