प्रहरी समायोजन प्रक्रिया चाँडै अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजन प्रक्रिया चाँडै अगाडि बढ्ने बताएका छन्।

शुक्रबार अध्यागमन विभागको इभिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको आरम्भ गर्दै उनले यस्तो बताएका हुन्।

गृहमन्त्री श्रेष्ठले समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।

केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको उनले बताए।

मन्त्री श्रेष्ठले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेको र अब मन्त्रिपरिषदबाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि जानकारी दिए।

२०७६ सालमा पारित भएको प्रहरी समायोजन ऐनलाई केही संशोधन र परिमार्जन गर्न जरूरी रहेको बताउँदै उनले त्यसका लागि विधेयक तयार भइसकेको उल्लेख गरे।

उनले २०७६ मा पारित भएको नेपाल प्रहरी तथा प्रदेस प्रहरी कार्यसञ्चालन सपरीवेक्षण र समन्वय ऐनमा पनि केही संशोधन गर्नुपर्ने भएकाले त्यसलाई पनि संसदमा पेस गर्न लागिएको बताए।

श्रेष्ठले निर्वाचन ऐनको विधेयक पनि करिब सकिसकेकाले संसदमा पठाउने तयारी भइरहेको जानकारी दिए।

स्थानीय प्रशासन ऐनको विधेयकको मस्यौदा पनि अन्तिम चरणमा पुगेको बताउँदै उनले सशस्त्र प्रहरी बलको ऐन पनि मस्यौदाको प्रक्रियामा उल्लेख गरे।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *