प्रधानमन्त्रीको ‘अफर’ अस्वीकार गरेपछि कांग्रेस विरोधमा उत्रियो : गृहमन्त्री

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री बन्ने ‘अफर’ अस्वीकार गरेपछि नेपाली कांग्रेस आफ्नो विरोधमा उत्रिएको बताएका छन्।

आइतबार साँझ प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका हुन्।

गृहमन्त्री हुन नमिल्ने तर प्रधानमन्त्री हुन कुन नैतिकताले मिल्ने भन्दै उनले कांग्रेसलाई प्रश्न गरे।

‘म गृहमन्त्री हुन नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ, म आज यो सदनमा सोध्न चाहन्छु,’ लामिछानेले भने,‘अफर गर्नेले कान रातो पार्नुपर्दैन। म राजनीतिमा गोपनीयताको ख्याल राख्ने मान्छे हुँ, गोपनीयता राखौंला तर मेरो प्रश्न छ।’

आफूलाई प्रधानमन्त्रीका लागि अफर गरिएको समय अझै बाँकी छ कि सकिएको छ यो कुराको जवाफ कांग्रेस सभापति शेरबहादुर देउवाले सदनमा दिँदा राम्रो हुने उनले बताए।

‘यो कुराको जवाफ सदनमा उभिएर कांग्रेस सभापतिले दिए राम्रो हुन्थ्यो। राति प्रधानमन्त्रीको अफर अनि अफर अस्वीकार गरेपछि भोलिपल्ट संसद अवरोध, संसदीय छानबिन समितिको माग उचित हो कि होइन?,’ उनले भने।

गृहमन्त्री लामिछानेले मिडियामा आएजस्तो आफू सहकारी प्रकरणमा संलग्न नभएको दाबी गरे।

दोषी देखिए आफूलाई हत्कडी लगाउन प्रहरीलाई निर्देशन दिएको उनल बताए।

‘सहकारी प्रकरणमा मेरो संलग्नता छैन, कानुनले जे भन्छ प्रहरी त्यहीअनुसार चल्ने हो,’ लामिछानेले भने,‘दोषी देखिए मैले हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको छु। संलग्नता प्रमाणित भए कारबाही भोग्न तयार छु।’

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *