जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार बेलुका भेटवार्ता भएको हो।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाइ दिए।
उनले मोदीको तेस्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे।
भेटमा दुवै नेताबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
त्यस्तै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच विगतमा भएका समझदारी एवं सम्झौताहरू कार्यान्वयनका बारेमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्ड समकक्षी मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली गएका हुन्।
भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री पद सम्हालेका हुन्।
सपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डका साथै बंगलादेश, भुटान, श्रीलंका, मरिसस, माल्दिभ्सलगायतका देशका राष्ट्र र सरकार प्रमुख सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डको सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Leave a Reply