काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताको पक्षमा दरिलो भूमिका खेल्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा सोमबार बसेको संसदीय दलको बैठकमा उनले सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्।
बैठकमा बोल्दै प्रचण्डले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलो रूपमा प्रस्तुत हुन निर्देशन दिए।
‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनुहोस्। सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रचण्डले भने,‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ। यी विषय सदनमा प्रस्तुत गर्नुहोस्।’
आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै उनले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नारखी तल्लो तहमा पठाइने बताए।
प्रचण्डले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उनले जानकारी दिए।
प्रचण्डले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ। सहमतिबाटै विधेयक पास गराउने तयारी भइरहेको छ। सोही प्रक्रियामा जानुपर्छ।’
Leave a Reply