काठमाडौं- पाकिस्तानमा विगतमा तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ गत वर्ष स्वेच्छिक निर्वासन टुंग्याउँदै स्वदेश फर्किए।
बिहीबार भइरहेको निर्वाचनमा उनलाई जित्नसक्ने बलियो उम्मेदवार मानिएको छ।
विगतमा तीन दशकमा उनी पाकिस्तानको राजनीतिमा अधिकांश समय प्रभावशाली बने। तर, उनी फेरि सत्तामा फर्किनसक्ने अनुमान कमै व्यक्तिले गरेका थिए होलान्।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि उनले पद गुमाएका थिए। त्यसअघि उनलाई सेनाले अपदस्थ गरेको थियो।
पाकिस्तानमा लामो समयसम्म उनलाई शक्तिशाली सेनाको विपक्षीका रूपमा हेरिएको थियो। अहिले उनी राजनीतिक पुनरागमनको सँघारम भए जस्तो देखिन्छ।
आफ्नो पुनरागमन शरीफका लागि नाटकीय उपलब्धि हुनेछ।
‘उनी निकै लोकप्रिय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन्,’ अमेरिकी थिङ्कट्यांक ‘विल्सन सेन्टर’ का दक्षिण एसिया निर्देशक माइकल कुगल्मन भन्छन्।
शरीफका कट्टर प्रतिद्वन्द्वी तथा विगतमा सेनाको साथ पाएका इमरान खान अहिले जेलमा छन्। खानको लोकप्रिय पार्टीमाथि देशभर प्रतिबन्ध लगाइएको छ।
सत्ता, जेल र निर्वासन
शरीफलाई ‘पुनरागमनका राजा’ भन्न सकिन्छ। पहिला पनि उनी राजनीतिमा फर्किएका थिए।
आफ्नो दोस्रो कार्यकालमा सन् १९९९ मा उनी सैन्य ‘कू’ कारण सत्ताबाट बाहिरिएका थिए। तर, सन् २०१३ को निर्वाचनमार्फत फेरि तेस्रोपटक प्रधानमन्त्री बन्दै शक्तिमा फर्किए।
पाकिस्तानका लागि त्यो एउटा ऐतिहासिक क्षण थियो। किनभने सन् १९४७ मा स्वतन्त्र भएयता त्यहाँ प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित कुनै सरकारले त्यस्तै अर्को सरकारलाई सत्ता हस्तान्तरण गरेको नै पहिलोपटक थियो।
तर, शरीफको तेस्रो कार्यकाल निकै कठिन रह्यो। राजधानी इस्लामाबादमा विपक्षी दलले ६ महिना गरेको नाकाबन्दीदेखि भ्रष्टाचारको अभियोगसम्म उनले थुप्रै चुनौती सामना गर्नुपर्यो।
भ्रष्टाचार अभियोगमा अन्ततः सन् २०१७ को जुलाई महिनामा सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरिदियो र उनले त्यसलगत्तै राजीनामा दिए।
सन् २०१८ को जुलाई महिनामा उनलाई अर्को अदालतले भ्रष्टाचारमा दोषी ठहर ग¥यो र १० वर्षको जेल सुनायो।
तर, दुई महिनापछि अदालतले अन्तिम निर्णय नभएसम्मका लागि सजाय निलम्बन गरेपछि उनलाई रिहा गरियो।
सन् २०१८ को डिसेम्बरमा उनी फेरि भ्रष्टाचार मुद्दामा जेल गए। साउदी अरबमा उनको परिवारको स्वामित्वमा रहेको स्टील मिलसँग सम्बन्धित मुद्दामा उनी दोषी ठहर भए।
त्यसपछि उनले ब्रिटेनमा उपचार गर्न जानुपरेको भन्दै धरौटीमा छुट्ने प्रयास गरे। सन् २०१९ मा उनी धरौटीमा निस्किएर लन्डन गए।
त्यहाँ उनी चार वर्षसम्म एउटा विलासी फ्ल्याटमा बसे। उनी गत अक्टोबरमा मात्र पाकिस्तान फर्किएका हुन्।
आफू सशरीर उपस्थित नहुँदा पनि उनी विगत ३५ वर्षदेखि पाकिस्तानका अग्रणी नेतामध्ये एक हुन्।
जेनरल जिया उल–हककका चेला
शरीफ सन् १९४९ मा लाहोरमा एक प्रख्यात उद्योगपतिको परिवारमा जन्मिएका थिए। एउटा सहरी निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै उनी राजनीतिमा स्थापति भएका हुन्।
शरीफलाई सन् १९७७ देखि १९८८ सम्म पाकिस्तानमा शासन गरेका सैन्य नेता जेनरल जिय उल–हकबाट कृपादृष्टिप्राप्त चेला मानिन्छ।
विदेशमा शरीफलाई सन् १९९८ मा पकिास्तानमा पहिलो आणविक परीक्षणको आदेश दिने नेताको रूपमा चिनिन्छ।
जेनरल जियाको सैन्य कानुन लागु गरेपछिका प्रारम्भिक दिनमा शरीफ पहिलोपटक राष्ट्रिय राजनीतिमा चर्चामा आए।
उनी सन् १९८५ देखि सन् १९९० सम्म पञ्जाब प्रान्तको अर्थमन्त्री र त्यसपछि मुख्यमन्त्री बनेका थिए।
त्यस अवधिमा उनी प्रभावशाली राजनीतिक व्यक्तित्वभन्दा पनि कुशल प्रशासकको रूपमा चिनिए।
उनी सन् १९९० म प्रधानमन्त्री बने। तर, सन् १९९३ मा उनको सरकारलाई बर्खास्त गरियो र तत्कालीन विपक्षी नेत्री बेनजिर भुट्टोले सरकार बनाइन्।
शरीफ ‘इत्तेफाक’ नामक स्टील मिल समूहका मालिक हुन्। उनी पाकिस्तानकै धनी उद्योगपतिमध्ये पर्छन्।
सैन्य कू र मुद्दा
शरीफ सन् १९९७ मा सजिलै बहुमत प्राप्त गरेर फेरि प्रधानमन्त्री बने। देशमा सेनाबाहेक सबै संस्थाहरूमा उनको बलियो पकड बन्यो।
संसदमा विपक्षीहरूबाट दिक्क भएर उनले सरिया कानुन लागु गर्न आफूले अधिकार पाउने गरी संविधानमा संशोधन गर्ने प्रयास गरे।
उनले अन्य दुई शक्ति केन्द्रसँग संघर्ष गरे। उनका समर्थकहरूले सर्वोच्च अदालतमा तोडफोड गरे। र, उनले पाकिस्तानको शक्तिशाली सेनामाथि अंकुश लगाउने प्रयास गरे।
तत्कालीन सेना प्रमुख परवेज मुशर्रफले शरीफलाई सन् १९९९ मा पदच्युत गरिदिएपछि पाकिस्तानमा सेनाको प्रभाव सीमित पार्ने प्रयास कति खतरनाक कुरा हो भन्ने देखियो।
शरीफ पक्राउ परे र जेल गए। उनलाई अपहरण र आतंकवादसँग सम्बन्धित अभियोगमा जन्मकैद सुनाइयो। उनी भ्रष्टाचारमा दोषी ठहरिए र उनलाई आजीवन राजनीतिक गतिविधि गर्न रोक लगाइयो।
तर, साउदीहरू मध्यस्थता गरेको भनिएको एउटा सम्झौताले उनी र उनको परिवारका सदस्यलाई जेल जान जोगायो।
त्यो सम्झौताअनुसार शरीफ र उनको परिवारका ४० सदस्य १० वर्षका लागि निर्वासनमा गएको ठानिन्छ।
शरीफ सत्ताबाट हट्दा धेरै पाकिस्तानीहरूले उनी भ्रष्ट, अक्षम र सत्तामोह भएका व्यक्ति भनी ठूलो राहत महसुस गरेका थिए।
भ्रष्टाचार गरेको आरोप
तर, सन् २००७ मा सैन्य शासकहरूसँग एक सम्झौता गरी उनी भव्य रूपमा पाकिस्तान फर्किए। स्वदेश फर्किएपछि उनी धैर्यपूर्वक प्रतिक्षामा बसे।
सन् २००८ को निर्वाचनमा उनको पिएमएल–एन पार्टीले पाकिस्तानको संसदमा झन्डै एकचौथाइ सिट जित्यो।
सन् २०१३ मा पनि उनले अनुमान गरेकोभन्दा ठूला मतान्तरले चुनाव जिते। उनले राजनीतिक रूपमा महत्वपूर्ण पञ्जाब प्रान्तमा भूतपूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टीले दिएको कडा चुनौतीको सामना गरे।
तर, सत्तामा आएपछि शरीफले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै खानको पिटिआइ पार्टीले इस्लामाबादमा ६ महिनासम्म अवरोध गर्यो।
त्यसबेला सार्वजनिक वृत्तमा त्यस्तो अवरोध सेनाको इन्टर सर्भिसेज इन्टेलिजेन्स (आइएआइ) का केही अधिकारीहरूको उक्साहटमा गरिएको चर्चा चलेको थियो।
विश्लेषकहरूका अनुसार सेनाले शरिफलाई त्यसरी दबाब दिन खोजेको थियो। सैन्य संस्थापनले शरीफलाई भारतसँग व्यापारिक सम्बन्ध विस्तारको प्रक्रिया अगाडि बढाउन रोक्न खोजेको मानिन्छ।
शरीफले आफ्नो तेस्रो कार्यकालमा नयाँ पूर्वाधार विकास गरी र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाइ पाकिस्तानलाई एसियाको बाघ बनाउने बाचा गरेका थिए। तर, समस्याहरू बढ्दै गए।
उनको कार्यकालमा सुरू भएको बहुचर्चित चीन–पाकिस्तान आर्थिक करिडोर देशको कमजोर अर्थतन्त्रका कारण अड्किएको छ। झन्डै ५६ अर्ब अमेरिकी डलर लागतको उक्त परियोजामा खासै ठूलो प्रगति हुनसकेको छैन।
सन् २०१६ को प्यानमा पेपर्स प्रकरणमा नाम मुछिएपछि उनीमाथि सर्वोच्च अदालतले छानबिन सुरू ग¥यो। उनको परिवार लन्डनमा केही अपार्टमेन्ट किन्दा गरेको कारोबार र उनको सम्पत्तिबारे प्रश्न उठ्यो। शरीफले भने सबै आरोप अस्वीकार गर्दै ती सबै राजनीतिक रूपमा प्रेरित रहेको दाबी गरे।
सन् २०१८ जुलाई ६ मा पाकिस्तानको एउटा अदालतले उनलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर ग¥यो र १० वर्षको जेल सजाय सुनायो।
सजाय सुनाउँदा शरीफ भने लन्डनमा थिए। त्यहाँ उनकी पत्नीको उपचार भइरहेको थियो।
त्यही मुद्दामा शरीफकी छोरी ज्वाइँलाई पनि दोषी ठहर गरिएको थियो।
फेरि अर्को अवसर
इमरान खान प्रधानमन्त्री पदमा रहुन्जेल शरीफ लन्डनमै बसे।
खानको कार्यकाल पनि विवादरहीत बन्न सकेन। र, उनको सेनासँगको सम्बन्ध बिग्रिँदै गयो।
सन् २०२२ मा संसदबाट खानविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएपछि उनको सरकार ढल्यो र शरीफका भाइ शहबाज शरीफको नेतृत्वमा नयाँ सरकार बन्यो।
सन् २०२३ अक्टोबरमा शरीफ पाकिस्तान फर्किए। अहिले उनीविरूद्ध लागेका मुद्दाहरू सेलाइसकेका छन् र हिजो उनलाई पदबाट हटाएको सेनाले नै आज उनलाई स्वीकारेको जस्तो देखिन्छ।
इमरानको पतनसँगै पाकिस्तान फर्किएपछि शरीफ राजनीतिक गतिविधिमा सक्रिय भएका छन्। आसन्न निर्वाचनमा उनको पार्टीले जितेमा उनलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्नेछ।
तर, उनको जित निश्चित भने छैन। धेरैले शरीफ र उनको पार्टीलाई पाकिस्तानलाई आर्थिक संकटमा पारेको दोष दिन्छन्। साथै विगतको भ्रष्टाचारको आरोपले पनि उनको लोकप्रियता निकै घटेको छ।
चौथोपटक प्रधानमन्त्री बन्लान् त?
पाकिस्तानको राजनीतिमा अहिले अस्थिरता छ। वर्तमान अवस्थामा शरीफले आफूलाई तीन कार्यकाल प्रधानमन्त्री भइसकेको अनुभवी नेताका रूपमा प्रस्तुत गरेका छन्।
उनले देशको अर्थतन्त्र सुधार्न र देशलाई सही बाटोमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
तर, विश्लेषकहरू भने ढुक्क छैनन्। किनभने शरीफकासामु थुप्रै चुनौती छन्। देशको अर्थतन्त्र संकटमा छ र त्यसका लागि धेरैले उनकै पार्टीलाई दोष दिएका छन्।
साथै उनको मुख्य प्रतिद्वन्द्वी जेलमा रहेकाले निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरिएको छ।
फेरि पाकिस्तानको सत्ता र शासनमा सेनाको ठूलो प्रभाव छ। विदेशमा हुँदा शरीफ बेलाबेला सेनाविरूद्ध बोलिरहन्थे।
देशमा व्याप्त अस्थिरताका लागि विशेष गरी गुप्तचर निकाय आइएसआइका पूर्वप्रमुख तथा पूर्वसेनापतिलाई उनी दोष लगाउँथे। तर, उनीहरूले त्यस्तो आरोपको खन्डन गरेका छन्।
शरीफ न्यापालिकाको पनि कडा आलोचना गर्दै आएका थिए। न्यायाधीशहरूले मिलेमतो गरेको र आफूलाई झुटो मुद्दामा फसाइएको उनको दाबी थियो।
त्यसैले पाकिस्तानमा प्रजातन्त्र कमजोर बनेको र कुनै प्रधानमन्त्रीले पनि कार्यकाल पूरा गर्न नपाएको उनको धारणा थियो।
सेनाले भने शरीफ वा इमरान खान वा अन्य कुनै नेताको विषयमा केही टिप्पणी गरेको छैन। सेनाको आधिकारिक भनाइ ‘आफू राजनीतिमा संलग्न नहुने’ भन्ने छ।
तर, बाहिरबाट हेर्दा शरीफले सेनासँग कुनै न कुनै सम्झौता गरेको जस्तो विश्लेषकहरू ठान्छन्।(बिबिसीबाट)
Leave a Reply