काठमाडौं- पाकिस्तानमा बिहीबार सम्पन्न आमनिर्वाचनको नतिजालाई चुनौती दिँदै त्यहाँका अदालतहरूमा ठूलो संख्यामा उजुरीहरू दर्ता भएका छन्।
निर्वाचनमा व्यापक धाँधली भएको भन्दै अदालतहरूमा उजुरी दर्ता भएका हुन्।
हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआइ) ले समर्थन गरेका उम्मेदवारहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन्।
चुनावी नतिजा र त्यसपछिको राजनीतिक परिस्थितिलाई लिएर उक्त दलले शान्तिपूर्ण प्रदर्शनको आह्वानसमेत गरेको छ।
इमरान खानको दलले पाकिस्तानको निर्वाचन आयोग र अन्य सरकारी भवनबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो।
जेलमा रहेका खानलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। उनको दलको समर्थन पाएका धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका हुन्।
जेलबाटै खानले आफ्नो दलले चुनाव जितेको घोषणा गरेका छन् भने उनका प्रतिद्वन्द्वी नवाज शरिफले पनि जितको दाबी गरेका छन्।
हालसम्मको चुनावी नतिजाले खानको दलले समर्थन गरेका उम्मेदवारले धेरै स्थानमा जितेको देखाएको छ।
चुनावमा धाँधली भएको भन्ने खानको दलको आरोपलाई पाकिस्तानी अधिकारीहरूले भने अस्वीकार गरेका छन्।
पिटिआइले मात्र नभइ पाकिस्तानका कतिपय धार्मिक दलहरूले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको आह्वान गरेका छन्।
जमात–ए–इस्लामीले कराची सहरका विभिन्न ८ स्थानमा प्रदर्शन गर्ने जनाएको छ। उसले जनताको अपमान गर्न नदिने जनाएको छ।
जमीयत उलेमा–ए–इस्लामले पनि चुनावमा धाँधलीको आरोप लगाएको छ। यो समूहले सिन्ध प्रान्तका २८ स्थानमा प्रदर्शनको आह्वान गर्दै राष्ट्रिय राजमार्गमा चक्काजाम गर्ने जनाएको छ।
पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका कुल २६५ सिटमध्ये २५७ सिटको नतिजा घोषणा गरेको छ।
उसले बलुचिस्तानका सात क्षेत्रको नतिजा सार्वजनिक गर्न बाँकी छ।
हालसम्मको नतिजाअनुसार खानको दल समर्थित उम्मेदवारहरू ९३ सिटमा विजयी भएका छन्।
नवाज शरिफको दल मुस्लिम लिग–एनले ७४ सिटमा चुनाव जितेको छ भने बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपिल्स पार्टीले ५४ सिटमा विजय हासिल गरेको छ।
एमक्यूएमले १७ सिटमा चुनाव जितेको छ भने पाकिस्तान मुस्लिम लिग र जमीयत उलेमा–ए–इस्लामले तीन–तीन सिटमा विजय हासिल गरेका छन्।
सरकार बनाउन कसरत
खानको दल पिटिआइले जितको दाबी गरिरहेका बेला शरिफको दलसहित अन्य दलहरू मिलेर सरकार गठनको प्रयासलाई तीब्र पारेका छन्।
त्यसै क्रममा पछिल्लोपटक एमक्यूएम पार्टीका प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री शरिफसँग भेट गरेको बिबिसीले जनाएको छ।
शरिफको दल पाकिस्तान मुस्लिम लिग (एन) का प्रवक्ता तथा पूर्वमन्त्री मरियम औरङ्गजेबले एमक्यूएमका नेताहरू शरिफलाई भेटेको जनाएका छन्।
खानको दलका अध्यक्ष गौहर अलि खानले आफ्नो दलसँग बहुमत भएका कारण देशका सबै संस्थाले त्यसलाई स्वीकार्नुपर्ने बताएका छन्।
शरिफको दलका प्रवक्ताले पनि आफ्नो सरकार बनाउनका लागि उनको दलले भुट्टोको पार्टीसँग कुराकानी गर्ने बताएका छन्।
सुरूवाती चरणको कुराकानी भएको बताउँदै उनले इमरान खानको दलसँग सत्ता साझेदारीको सम्भावना नरहेको उल्लेख गरेका छन्।
त्यसअघि बिलावल भुट्टोले चाहिँ सरकार बनाउने विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका थिए।
Leave a Reply