पाकिस्तान चुनाव : इमरान खान समर्थित उम्मेदवारहरूको प्रारम्भिक अग्रता

काठमाडौं- पाकिस्तानमा बिहीबार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ (पिटिआइ) समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।

शुक्रबार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेकोमा पिटिआइ समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका हुन्।

तीमध्ये सबैभन्दा धेरै ६० भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको निर्वाचन आयोगलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएको छ।

पिटिआइमाथि देशभरि प्रतिबन्ध लगाइएपछि खान समर्थित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनीहरूलाई पार्टीको निर्वाचन चिह्न क्रिकेटको ब्याट प्रयोग गर्न पनि निर्वाचन आयागले रोक लगाएको थियो।

गत वर्ष स्वेच्छिक निर्वासनबाट फर्किएका अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग (नवाज) पार्टीले स्वतन्त्र उम्मेदवारपछि सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ।

यो दलले ४५ भन्दा धेरै सिटमा जित हासिल गरेको हो। यो पार्टीका प्रमुख नवाज शरिफ लाहोरबाट विजयी भएका छन्।

यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवान शरिफलाई पाकिस्तानको शक्तिशाली सेनाले साथ दिएको कतिपय विश्लेषकहरूले बताउँदै आएका छन्।

निर्वाचनको पूरा नतिजा नआउँदै खान र शरिफको दलले आ–आफ्नो जितको दाबी गर्दै आएका छन्।

मतपरिणाम आउन बाँकी क्षेत्र पाकिस्तानका विभिन्न प्रान्तहरूमा पर्छन्। ती क्षेत्रहरूमा यसअघि शरिफको दलको पकड देखिएको थियो।

तेस्रो धेरै मत हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले ल्याएको छ।

यो दलले शुक्रबार साँझसम्म ३५ भन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ।

विश्लेषकहरूले हालसम्मको मत परिणामका आधारमा कुनै एक पार्टीले बहुमत पाउने प्रस्ट नदेखिएको बताएका छन्।

स्वतन्त्र उम्मेदवारले के गर्लान्?

निर्वाचन आयोगको नियमअनुसार स्वतन्त्र उम्मेदवारहरू चुनावमा निर्वाचित भएपछि निर्वाचन चिह्न भएको कुनै दलमा आवद्ध हुने ठानिएको छ।

तहरिक–ए–इन्साफ पार्टीको चुनाव चिह्न नभएका कारण खानको दलले समर्थन गरेका उम्मेदवारहरू अर्को दलमा जानुपर्ने बाध्यता छ।

उनीहरूलाई नवाज शरिफ वा बिलावल भुट्टो जरदारी दुवैको दलले आफ्नो दलमा ल्याउन प्रयास गरिरहेका छन्।

पाकिस्तानको नेसनल एसेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ।

पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्। राष्ट्रियसभा भनिने संघीय संसदसहित प्रान्तीयसभाहरूमा समेत गरी देशभरि ५ हजार उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।

धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *